त्रिपुरेश्वर बस आगलागीः चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स बोकेको खुलासा


काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा जलेका चालकको मृत्यु भएको छ । उनको पहिचान पनि खुलेको छ ।

मृतक चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीका अर्जुन दोङ तामाङ भएको काठमाडौं प्रहरी परिसरका एसएसपी दिलिप घिमिरेले बताए । तर उनले अर्कैको नामको लाइसेन्स बोकेर सार्वजनिक यातायात चलाइरहेको पनि खुलेको छ ।

पछिल्लो समय उनले ऋिद्धिसिद्धि यातायातको बस दावा लामाको नाममा रहेको सवारीचालक अनुमतिपत्र बोकेर चलाइरहेका थिए । तर एक वर्षअघि उनले सुनील तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र बोक्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।

२०८२ साल कात्तिकमा बालाजु बस पल्टिँदा तीन जना घाइते भएका थिए । त्यस बसका चालक पनि अर्जुन नै थिए । तर त्यसयता उनी फरार थिए । त्यस बेला उनीसँग सुनीलको नाममा जारी भएको लाइसेन्स भएको एसएसपी घिमिरेले बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा अर्जुनले पछिल्लो समय दावा लामाको नाममा रहेको बैंक खाता तथा नागरिकतासमेत प्रयोग गरेको हुनसक्ने देखिएको छ । त्यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

करिब तीन महिनाअघि मूलपानीमा एक चालक र अर्का एक व्यक्तिबीच कुटाकुटको अवस्था भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । एकछिन भनाभन भएपछि ती चालक रड बोकेर चालक सिटबाट तल झर्छन् । तर तत्कालै त्यहाँ झुरुप्प जम्मा भएका मानिसले उनको रड खोस्छन् ।

ती व्यक्ति पनि अर्जुन नै भएको खुलेको छ । त्यस बेला पनि उनले ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेका थिए । त्यस बेलै उनीसँग दावा तामाङको नाममा जारी भएको लाइसेन्स थियो ।