वेलायतसँगको यात्रा प्रतिबन्ध हटाउन ईयूद्वारा सदस्य राष्ट्रहरूलाई आग्रह



युरोपेली आयोगले ईयूमा आबद्ध देशहरूलाई कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर वेलायतसँगको यात्रामा उनीहरूले लगाएको प्रतिबन्ध हटाउन सिफारिस गरेको छ ।

ईयूका २७ सदस्य राष्ट्रका राजदूतहरूको एउटा बैठकअघि आयोगले पछिल्लो सिफारिस गरेको हो । सदस्य राष्ट्रहरूले त्यो मान्नैपर्ने बाध्यता भने छैन । सीमा नियन्त्रणसम्बन्धी आआफ्ना नीति अपनाउन स्वतन्त्र भएकोले सदस्य राष्ट्रहरूले आफ्नो कदमलाई निरन्तरता पनि दिन सक्छन् ।

यसअघि सप्ताहान्ततिर फ्रान्सले वेलायतसँग जोडिएका सिमाना बन्द गर्दा दुई देशबीच सामान ओसारपसार गर्ने हजारौँ लरीहरू अलपत्र परेका थिए । लगभग ईयूका सबै २७ सदस्य राष्ट्रले वेलायतबाट हुने यात्रामा अहिले प्रतिबन्ध लगाएका छन् । साझा नीति अवलम्बन गर्ने प्रयासमा ईयूको आकस्मिक बैठकहरू बस्दै आएका छन् । कोभिड १९ को परीक्षण गराउने वा फर्केर एकान्तवासमा जाने प्रतिबद्धता जनाउने नागरिकलाई आआफ्नो देश फर्कन दिन ईयूका सदस्य राष्ट्रलाई युरोपेली आयोगले एउटा वक्तव्यमार्फत् सिफारिस गरेको छ । यद्यपि अत्यावश्यक नपरेको अवस्थामा गरिने यात्राहरूलाई निरुत्साहित गर्नुपर्नेमा उसले जोड दिएको छ ।

ईयूभित्र यातायात क्षेत्रमा काम गर्ने लरी चालकजस्ता मानिसको हकमा यात्रा प्रतिबन्ध र अनिवार्य परीक्षणको व्यवस्था गर्न नहुने आयोगको भनाइ छ । वेलायतबाट फ्रान्स र ईयूका अरू सदस्य राष्ट्र जानका लागि चाहिँ कोरोनाभाइरस परीक्षण गराएको हुनुपर्ने उसको भनाइ छ । फ्रान्स र वेलायतबीच भएको पछिल्लो सहमतिअनुसार दुई देशबीच कार्गो र केही यात्रुसेवा पुनः सञ्चालनमा आउने भएका छन् । लरी चालक तथा ईयूका नागरिकले यात्रा गर्न पाउनेछन्। तर उनीहरूले कोरोनाभाइरस परीक्षण गराएको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने हुन्छ ।

हवाई, डुङ्गा तथा युरोस्टार रेलसेवा बुधवारदेखि पुनः सञ्चालनमा आउनेछन् । वेलायतबाट गरिने यात्राको हकमा युरोपभित्र मात्रै प्रतिबन्ध सामना गर्नुपरेको छैन, विश्वका ५० भन्दा बढी मुलुकले यात्रामाथि प्रतिबन्ध लगाएका छन् । संयुक्त राज्य अमेरिकाले वेलायत र केही अरू देशमा पछिल्लो १४ दिनदेखि बस्दै आएका गैरअमेरिकी नागरिकमाथि प्रवेशमा रोक लगाएको छ। । साउदी अरब, कुवेत र ओमानले अन्तर्राष्ट्रिय यात्रुका लागि आफ्ना सिमानाहरू पूर्ण रूपमा बन्द गरिदिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खाडी ग्यास सुविधामाथि इजरायलको आक्रमण ‘युद्ध विस्तार गर्ने’ प्रयास रहेको इरानको भनाई

तेहरान । इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार खाडी तटमा रहेको प्रमुख ग्यास सुविधामा

भष्टाचार मुद्दामा दोषी ठहरिएपछि फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीको खोसियो सर्वोच्च सम्मान

पेरिस । भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएपछि फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीबाट लिजन अफ

इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुने ट्रम्पको चेतावनी

  वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानलाई यदि इरानले संयुक्त राज्य

इरान-इजरायल तनाबबारे ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहान टेलिफोन