अमेरिकाद्वारा मोडेर्नाको खोपलाई अनुमति
अमेरिकी सरकारले कोभिड १९ खोप मोडेर्नालाई दोस्रो खोपको रूपमा अनुमति दिएको छ । यसले खोपको दशौँ लाख मात्रा वितरण गर्न बाटो खुला भएको बताइएको छ ।
अमेरिकी खाद्य तथा औषधि नियामक संस्था (एफडीए) ले गत हप्ता अनुमति दिएको फाइजर बायोएनटेकपछि मोडेर्ना वितरणमा आएको छ । अमेरिकी सरकारले २० करोड मोडेर्ना खोप किन्न सहमति दिएको छ, जसमध्ये ६० लाख अब वितरणका लागि विभिन्न स्थानमा पठाउन तयार हुने बताइएको छ ।
कोभिड १९ सम्बन्धी मृत्यु र सङ्क्रमण संसारमै सबभन्दा धेरै अमेरिकामा छ । जोन्स् हप्किन्स् विश्वविद्यालयका अनुसार अमेरिकामा ३१ लाख भन्दा बढि मानिसहरूको कोभिड १९ का कारण मृत्यु भएको छ भने एक करोड ७२ लाख भन्दा बढी मानिसहरू सङ्क्रमित भएका छन् ।
एफडीए सल्लाहकार समितिले बिहीवार एकजना तटस्थ सहित २०-० मतका साथ खोपलाई अनुमोदन गरेको थियो । १८ वर्ष र त्यो भन्दा माथिको उमेर समूहका लागि मोडेर्ना खोपले पार्न सक्ने जोखिमका तुलनामा फाइदा बढी रहेको भन्दै मतदान भएपछि अनुमति दिइएको हो । नियामकहरूले यो साताको शुरूमा मोडेर्ना खोप ९४५ प्रभावकारी रहेको रिपोर्ट दिएका थिए ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अनुमति दिइएको भन्ने औपचारिक घोषणा हुनु घण्टौँ अघि ट्वीट गरे, जसमा उनले खोप ’अत्यधिक मतले अनुमोदित’ भएको र ’वितरण तत्काल शुरू हुने’ भन्दै खुशी व्यक्त गरेका थिए । अमेरिकी खोप कार्यक्रमले एप्रिलसम्ममा ५ करोड मानिसलाई खोप लगाइसक्ने बताएको छ ।