अमेरिकाको सर्वोच्च अदालतले प्रमुख चार प्रतिस्पर्धात्मक राज्यहरूको चुनावी नतिजा खारेज गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको प्रयासलाई अस्वीकार गरेको छ । टेक्सस, जोर्जिया, मिशिगन, पेन्सिल्भेनिया र विस्कन्सिन राज्यको नतिजालाई अमान्य घोषणा गर्न यसै साता मुद्दा दायर गरिएको थियो । ती चारवटै राज्यमा ट्रम्पका प्रतिस्पर्धी जो बाइडनले चुनाव जितेका हुन् ।
उक्त मुद्दालाई १८ प्रान्तीय महान्यायाधिवक्ता र १०६ रिपब्लिकन कङ्ग्रेस सदस्यहरूले समर्थन जनाएका थिए । तर एउटा संक्षिप्त आदेशमा सर्वोच्च अदालतले शुक्रवार टेक्सससँग उक्त मुद्दालाई सर्वोच्च अदालतमा अघि बढाउने कुनै कानुनी आधार नभएको उल्लेख गरेको छ ।
अदालतको यो आदेश ट्रम्पका लागि एउटा झड्का हो किनकि उनी गत नोभेम्बरमा भएको निर्वाचनमा प्रमाणविना धाँधलीको आरोप लगाइरहेका छन् र त्यसलाई कानुनी चुनौती दिने बताइरहेका छन् । उक्त अदालतले यसै साता पेन्सिल्भेनियामा बाइडनको विजयविरुद्ध अर्को एउटा छुट्टै कानुनी चुनौतीलाई खारेज गर्दै एक वाक्यमा आदेश दिएको थियो ।
त्यसपछि ट्रम्पका समर्थकहरूले चुनावी नतिजाविरुद्ध दर्जनौँ मुद्दाहरू हालेका छन् तर ती कुनै पनि सफल भएका छैनन् । डेमोक्रेटिक उम्मेदवार बाइडनले ट्रम्पलाई चुनावमा हराएर राष्ट्रपति चुनिएका छन् । बाइडनले देशव्यापी रूपमा ट्रम्पको भन्दा सात करोड बढी मत ल्याएका छन् । गत मङ्गलवार ट्रम्पका साझेदार टेक्ससका रिपब्लिकन महान्यायाधिवक्ता केन पाक्सटनले मुद्दा हालेका थिए ।
त्यसलाई राष्ट्रपति ट्रम्पले समर्थन गरेका थिए। उनले बुधवार हस्तक्षेप गर्न आग्रह गर्दै निवेदन गरेका थिए र यो मुद्दामा वादी बनेका थिए । उक्त मुद्दामा विस्कन्सिन, मिशिगन, पेन्सिल्भेनिया र जोर्जिया चारवटै राज्यको राष्ट्रपतीय चुनावको नतिजा खारेज गर्न माग गरिएको थियो । टेक्ससले कोरोनाभाइरस महामारीका बेला पनि अमेरिकीहरूले मत हाल्न पाउन् भनेर गरिएको व्यवस्था गैरकानुनी भएको आरोप लगाएको थियो ।
पाक्सटनले सर्वोच्चसँग ती राज्यहरूका संसद्लाई कसले चुनाव जितेको निर्णय गर्ने अधिकार दिन माग गरेका थिए। ती सबै राज्यको संसद्मा ट्रम्पको पार्टी रिपब्लिकनहरूकै बहुमत रहेको छ । तर बिहीवार चारै राज्यले दर्ता गराएको एउटा निवेदनमा त्यस्तो कार्यका लागि कुनै कानुनी आधार नभएकाले त्यसलाई खारेज गर्न भनिएको थियो ।

प्रतिक्रिया