दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार जरिवाना
भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क नलगाई बाहिर हिड्नेलाई दुई हजार रुपैयाँ जरिवाना गराईने मुख्य मन्त्री अरविन्द्र केजरीवालले जानकारी दिए । मास्क अनिवार्य रुपमा लगाउन पटक पटक आग्रह गर्दा पनि धेरैले वेवास्ता गरेपछि जरिवाना शुल्क बढाउन लागिएको हो । प्रदेश सरकारले यसअघि पाँच सय रुपैया मात्रै जरिवाना तोकेकोमा अहिले बढाएर दुई हजार पुर्याएको उनले बताए ।
केन्द्रीय राजधानी रहेको नयाँदिल्लीमा कोरोनाभाइरसको महामारी फैलिदै गएपछि सरकारले सतर्कता बढाउने क्रममा जरिवाना पनि बढाएको हो ।
उनले भिडभाड हुने वा गर्नुपर्ने सवै ठाउँ तथा गतिविधिहरुलाई सकेसम्म न्युनिकरण गर्न र भिडभाडमा जानै परेमा आधारभूत स्वास्थ्य सतर्कता कडाइका साथमा पालना गर्न पनि आग्रह गरेका छन् ।
धार्मिक, सांस्कृतिक, राजनीतिक तथा अन्य कुनै पनि कार्यक्रम तथा गतिविधिहरुप्रति उनले बढी चिन्ता व्यक्त गरे ।
कोरोनाभाइरसको महामारीको अवस्थाका बारेमा समीक्षा गर्न तथा भावी रणनीति तय गर्न दिल्लीमा भएको सर्वदलिय बैठकपछि उनले थप कडाई गर्न लागिएको जानकारी दिए ।