कोरोना भाइरसको खोप उत्तर कोरिया र रुसका ह्याकरको निशानामा
प्रविधि कम्पनी माइक्रोसफ्टका अनुसार उत्तर कोरिया र रुसका सरकार समर्थित ह्याकरले कोरोनाभाइरसको खोपबारे काम गरिरहेका संस्थालाई निशानामा राखेका छन् । उसले ’फ्यान्सी बियर’ रुसी समूह एवम् उत्तर कोरियाली ’जिन्क’ र ’सेरियम’ समूहहरू पछिल्ला साइबर हमलामा संलग्न पाइएका छन् ।
वेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्र एनसीएससीले यसअघि नै रुसी ह्याकरहरूले खोपको अनुसन्धानलाई निशानामा पारेको जनाएको थियो । ह्याकरहरूले अक्सफर्ड विश्वविद्यालय र अन्य संस्थाका अध्ययन चोर्ने प्रयास गरेका थिए । तर रुसले यसमा आफ्नो संलग्नता अस्वीकार गरेको थियो । माइक्रोसफ्टका अनुसार थुप्रै औषधि उत्पादक कम्पनीको कम्प्युटर प्रणाली तोड्न प्रयासहरू भएका छन् ।
निशानामा पारिएका खोपका अनुसन्धानहरू क्यानडा, फ्रान्स, भारत, दक्षिण कोरिया र अमेरिकाका छन् । माइक्रोसफ्टले भनेको छः रुसी समूहले दशौँ लाख पासवर्ड प्रयोग गरेर प्रणालीमा प्रवेश गर्ने ’ब्रुट फोर्स’ उपाय अपनाएको छ ।
एउटा उत्तर कोरियाली समूहले विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको अधिकारीको नाम प्रयोग गरेर इमेल पठाएर पासवर्ड हत्याउने प्रयास गरेको छ । त्यस्ता प्रयासहरू केही असफल भए पनि केही सफल समेत भएका भन्दै माइकोसफ्टले सजग गराएको छ ।
रुसले यसअघि खोपको अध्ययनलाई लक्षित गरिएको भन्ने विवरण अस्वीकार गरेको थियो । वाशिङ्टनस्थित रुसी दूतावासले अमेरिकी समाचार संस्था रोयटर्सलाई यसबारे थप भन्ने कुरा नरहेको प्रतिक्रिया दिएको छ ।
राष्ट्रसङ्घमा रहेका उत्तर कोरियाली प्रतिनिधिले अहिलेसम्म कुनै जवाफ दिएका छैनन् । माइक्रोसफ्टले विश्व नेताहरूलाई एउटा आग्रह गर्दै ’स्वास्थ्य सेवाका पूर्वाधारमा अन्तर्राष्ट्रिय कानुनको सुनिश्चितता गर्न र त्यसको कार्यान्वयनका लागि कदम चाल्न’ आग्रह गरेको छ ।
अमेरिकाले चीनलाई समेत त्यस्ता गतिविधिको आरोप लगाए पनि बेइजिङ्ले त्यसलाई अस्वीकार गर्दै आएको छ । ह्याकरको प्रयास अनुसन्धानमा अवरोध पुर्याउने भन्दा पनि विवरण चोर्न खोजेको पाइएका छन् । तर अपराधिक समूहहरू संलग्न भएका घटना समेत बढ्दै गएको पाइएका छन् ।