फिलिपिन्समा सन् २०२० कै सबभन्दा विध्वंसात्मक समुद्री आँधी, कम्तिमा १० जनाको मृत्यु
फिलिपिन्समा आएको विध्वंसात्मक आँधीका कारण कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । स्थानीय समय अनुसार आइतवार बिहान ४ः५० बजेतिर प्रतिघण्टा २२५ किलोमिटर वेगसहित क्याटानडुएस टापुमा आँधी आएको थियो । हुन त त्यसयता समुद्री आँधी कमजोर हुँदै गएको छ ।
तर लुजोन टापुमा त्यसले अझै क्षति निम्त्याइरहेको छ । राष्ट्रपति रोड्रिगो डुटेर्टेले आफ्नो निवासबाट विपद् व्यवस्थापनको दिशामा भइरहेका कामलाई नियालिरहेको उनका प्रवक्ताले जनाएका छन् । फिलिपिन्सको राष्ट्रिय विपद् व्यवस्थापनसम्बन्धी निकायका एक अधिकारी मार्क टिम्बलका अनुसार आँधीको बाटोमा पर्ने क्षेत्रका एक करोड ९० लाख मानिस प्रभावित भएका छन् ।
फिलिपिन्समा सन् २०१३ मा छ हजारको ज्यान लिएको हैयानपछिको यो नराम्रो समुद्री आँधी भएको अधिकारीहरूले जनाएका छन् । समुद्री आँधीको आगमनसँगै सम्पर्क विच्छेद भएको क्याटानडुएस टापुमा पर्ने भिराक नगरका करिब ७० हजार बासिन्दाको अवस्थाबारे चिन्ताहरू व्यक्त भइरहेका छन् ।
एल्बे प्रान्तमा एक पाँच वर्षीय बच्चासहित सात जनाको मृत्यु भएको जनाइएको छ । शक्तिशाली आँधीका कारण क्वेजोन प्रान्तका १० वटा शहरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । फिलिपिन्समा हरेक वर्ष औसतमा २० वटा जति आँधी आउने गरेको बताइन्छ ।
तर यो वर्ष कोरोनाभाइरस महामारीका कारण पूर्वतयारी पनि प्रभावित भएको अधिकारीहरू बताउँछन् । आँधीले पुर्याउन सक्ने मानवीय क्षतिलाई ध्यानमा राख्दै तीन लाख ४७ हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।