अजरबैजान र अर्मेनियाको युद्धमा परी नौ बालबालिकाको मृत्यु
अजरबैजान र अर्मेनियाबीचको हवाई आक्रमणमा परी कम्तीमा नौ जना बालबालिकाको ज्यान गएको छ । अजरबैजानको शिक्षा मन्त्रालयले अजरबैजान र अर्मेनियाबीचको विवादग्रस्त क्षेत्रमा भएको युद्धमा परी ती बालबालिकाको ज्यान गएको जनाएको हो । अजरबैजान र अर्मेनियाबीच पछिल्ला केही हप्ता विवादास्पद क्षेत्र नागोर्नाे काराबाखमा द्वन्द्व जारी रहेको छ ।
त्यहाँ भएका एक अर्का विरुद्धका आक्रमणहरुमा सयौँ नागरिकले ज्यान गुमाएका छन् । यी दुई देश बीचमा दुई पटकसम्म युद्धबिराम भएको भए पनि युद्धविरामको पालना नभएको बताइएको छ । जसका कारण अहिले पनि द्वन्द्व जारी नै रहेको छ ।
अजरबैजानका शिक्षा मन्त्री अमिन अम्रुल्याएभले उक्त क्षेत्रमा पछिल्लो समयमा शुरु भएको दुई देशबीचको द्वन्द्वका कारण नौ जना छात्रछात्राको ज्यान गएको बताए । दुई देशका बीचमा गएको सेप्टेम्बर २७ मा युद्ध भड्किएको थियो र त्यस यता आक्रमण जारी रहेको बताइएको छ । नोगोर्नो काराबाख क्षेत्रलाई आफ्नो दाबी गर्दै दुवै आक्रमण गरिरहेका छन् ।