प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने चीनको महत्वाकाँक्षी पञ्चवर्षीय योजना सार्वजनिक
चिनियाँ नेताहरूले उच्च स्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने गरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् ।
पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च–प्रविधिका अवयवहरूको पहुँचमा अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनले नयाँ महत्वाकाँक्षी योजना सार्वजनिक गरेको हो । सत्तारुढ कम्युनिष्ट पार्टीका नेताहरूले नयाँ पञ्चवर्षीय योजनाको मस्यौदा बेइजिङमा सार्वजनिक गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
राष्ट्रपति सी जिनपिङको नेतृत्वको चीनले ट्रम्प प्रशासनले अमेरिकी प्रविधि बिक्रीमा लगाएको प्रतिबन्धबाट सिर्जित क्षतिलाई सीमित गर्ने प्रयास गरिरहेको छ । अमेरिकाले खासगरी सुरक्षा र जासुसीको आरोप लगाउँदै चिनियाँ प्रविधि कम्पनीहरुलाई एकपछि अर्को आदेशद्वारा अमेरिकी चिप्सहरु बिक्री गर्न रोकिराखेको छ ।
चिनियाँ कम्पनीहरुले टेलिकम, बायोटेक र अन्य क्षेत्रमा प्रतिस्पर्धा गर्न थालेपछि अमेरिकाले नयाँ रणनीति अपनाउन थालेको चिनियाँ नेताहरुको बुझाई छ । चीनमा सन् १९५० को दशकदेखि पञ्चवर्षीय योजना लागू छ । चार दशकयता खुला बजार र आर्थिक उदारीकरणको नीति अंगालेको चीनले पञ्चवर्षीय योजनाका आधारमा देशको समग्र आर्थिक, सामाजिक तथा पूर्वाधार विकासलाई सम्बोधन गर्ने गरेको छ जसमा चिनियाँ कम्युनिष्ट पार्टीको भूमिका प्रमुख रुपमा रहने गरेको छ ।
योजनाको पूर्ण विवरण अर्को वर्षको मार्चमा सार्वजनिक गरिनेछ । नियमहरुमा संशोधन तथा उद्योगहरुका लागि नयाँ योजना त्यसपछि अगाडि सारिने बताइएको छ । हरित र कम कार्बनयुक्त विकासलाई बढावा दिइने तथा चिनियाँको जीवनस्तर माथि लैजाने वाचा गरिएको छ । साथै वक्तव्यमा २३ लाख सैनिकलाई थप सुदृढ र सुसज्जित गरी राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न सक्षम तुल्याइने उल्लेख छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा चिनियाँ कम्पनीमाथि दबाब बढाएसँगै चिनियाँहरुले चिप्स र प्रविधि विकासतर्फ ध्यान दिन थालेका हुन् । गत वर्ष, ह्वाइट हाउसले चिनियाँ चिप्स र अन्य सामानको आयातमा समेत कडा नियन्त्रण घोषणा गरेको थियो ।