फ्रान्सको आतंककारी आक्रमण, तीन जनाको मृत्यु, कैयौं घाइते
फ्रान्स । फ्रान्सको निस सहरमा भएको चक्कु आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।
आक्रमणमा कैयौँ व्यक्ति घाइते भएको फ्रान्सेली प्रहरीले जनाएको छ । यो आक्रमण फ्रान्सको चर्चित नोट्रे डाम चर्च नजिक भएको हो । प्रहरीका अनुसार मृत्यु भएका मध्ये एक महिलाको शिरछेदन गरिएको छ ।
निस सहरका मेयर क्रिस्चियन एस्ट्रोसीले पत्रकारहरुसँग कुरा गर्दै संदिग्ध आक्रमणकारीले पटक–पटक अल्लाह हु अकबर भनेको र उनीहरुलाई नियन्त्रणमा लिइएको बताइएको छ ।
फ्रान्सको राष्ट्रिय आतङ्क विरोधी टिमले यो विषयमा जाँच सुरु गरेको छ । निस भूमध्य सागरको तटमा रहेको दक्षिणी फ्रान्सको एक प्रमुख शहर हो । आक्रमणपछि फ्रान्सको संसदमा शोक व्यक्त गर्नको लागि एक मिनेटको मौनधारण गरिएको छ ।
पछिल्ला केही वर्षमा फ्रान्सको निस सहर यस्ता आक्रमणहरुको सिकार हुँदै आएको छ । सन् २०१६ मा त्यहाँ एक ट्युनिसियाली ड्राइभरले मानिसहरुलाई ट्रकले किचिदिदाँ ८६ जनाको ज्यान गएको थियो ।