भारतमा नयाँ राष्ट्रिय शिक्षा नीति पारित


भारतले नयाँ राष्ट्रिय शिक्षा नीति पारित गरेको छ । मन्त्रिपरिषदको बैठकले नयाँ राष्ट्रिय शिक्षा नीति पारित गरेको हो । यसअघि लागु हुँदै आएको नीतिलाई झण्डै ३४ वर्षपछि विस्थापित गर्ने गरी राष्ट्रिय शिक्षा नीति २०२० पारित गरिएको हो ।

मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले नीति पारित गरेको केन्द्रीय मन्त्री प्रकाश जभादेकरले जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा उनले २१औँ शताब्दीलाई सुहाउने गरी नयाँ नीतिमा धेरै व्यवस्थाहरू समावेश गरिएको बताए । झण्डै ३४ वर्षपछि नयाँ शिक्षा नीति आएकाले पनि यसको महत्व र औचित्य बढीरहेको उनको भनाइ छ ।

सरकारले ल्याएको नयाँ शिक्षा नीतिलाई सरोकारवाला र विज्ञहरूले स्वागत गर्ने र सकारात्मक रूपमा लिने विश्वास पनि उनले व्यक्त गरे । भारतले ल्याएको नयाँ शिक्षा नीतिले विश्वकै शिक्षा क्षेत्रलाई प्रभावित पार्ने पनि मन्त्री जभादेकरले दाबी गरे । त्यसैगरी उच्च शिक्षा सचिव अमित खारेले नयाँ शिक्षा नीति पारित भएको दिनलाई ऐतिहासिक दिनको संज्ञा दिए ।

नयाँ शिक्षा नीतिमा अनुगमन, प्रशासन, आर्थिक व्यवस्थापन, पारदर्शीतालगायतका विषयमा केही सुधार गर्ने प्रयास गरिएको शिक्षा सचिव खारेले जानकारी दिए । शिक्षा सचिव खारेले क्षेत्रीय भाषामा पठनपाठन गराउन सकिने गरी अनलाइन पाठ्यक्रमको समेत व्यवस्था नयाँ शिक्षा नीतिमा रहेको बताए ।

विद्युतीय प्रयोगशालाको अवधारणा विकास गर्दै राष्ट्रिय शैक्षिक प्राविधिक मञ्च पनि स्थापना गरिने उनले जानकारी दिए । शिक्षा नीति बनाउँदा व्यापक छलफल र अन्तरक्रियाहरू गरिएको र प्राप्त सुझावलाई सकेसम्म समेट्ने प्रयास गरिएको पनि शिक्षा सचिव खारेले बताए ।