एनपीएल फाइनल आज : लुम्बिनी र सुदूरपश्चिमबीच उपाधि भिडन्त


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा हुने फाइनल खेल बेलुका ५ बजे सुरु हुनेछ । लुम्बिनी पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई नै ६ विकेटले पराजित गर्दै फाइनल पुगेको हो । सुदूरपश्चिमले भने दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनल खेल्दैछ ।

यसअघि दुई संस्करणमा उपविजेतामै सीमित भएको सुदूरपश्चिम यसपटक पहिलो उपाधिको खोजीमा हुनेछ । यता, लुम्बिनी भने लगातार दोस्रोपटक उपाधि जित्दै इतिहास रच्ने दाउमा छ । दुई टोलीबीचको हेड टु हेडमा लुम्बिनी अगाडि छ । हालसम्म भएका पाँच भेटमा लुम्बिनीले तीन खेल जित्दा सुदूरपश्चिमले दुई खेल आफ्नो पक्षमा पारेको छ । प्रतियोगिताको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ । उपविजेताले ८० लाख रुपैयाँ प्राप्त गर्दा तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पाउनेछन् ।