काठमाडौँ । फिफा विश्वकप फुटबलमा बोस्निया–हर्जगोभिनाले समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा कतारलाई ३–१ ले पराजित गरेको छ । बोस्नियाले क्यानडासँग समान चार अंक भएपनि ‘हेड टु हेड’ मा पछि रहँदा तेस्रो स्थानमा सीमित हुनुपर्यो ।
जसका कारण उसले अन्तिम ३२ मा सिधै स्थान बनाउन सकेन । तर प्रतियोगिताका उत्कृष्ट तेस्रो भएर आठ टोलीमा एक टोलीका रुपमा अघि बढ्ने बलियो सम्भावना कायम राख्न सफल भयो। पराजित कतार भने प्रतियोगिताबाट बाहिरियो । खेलको पहिलो तीन मिनेटभित्रै एर्मेडिन डेमिरोभिच र इभान सुन्जिचका लामो दूरीका प्रहारलाई कतारका गोलरक्षक महमुद अबुनादाले उत्कृष्ट बचाउ गरेका थिए।
२९औँ मिनेटमा बोस्नियाले अग्रता बनायो। १८ वर्षीय केरिम अलाजबेगोभिचले दुई डिफेन्डरलाई छलाउँदै गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि बोस्निया १–० ले अघि बढ्यो ।
ठूलो संख्यामा रंगशालामा उपस्थित बोस्नियाली समर्थकहरू त्यसबेला झन् उत्साहित बने, जब ४० वर्षीय कप्तान एडिन जेकोले आफ्नो १५०औँ अन्तर्राष्ट्रिय खेलमा टोलीको दोस्रो गोलमा महत्वपूर्ण भूमिका खेले।

प्रतिक्रिया