पोखरा । पोखरामा भएको ११ देशका खेलाडीको सहभागिता रहेको अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसको उपाधि इन्डोनेसियाका रामा तेगु अदि प्रतामाले जितेका छन् । उनले ५ स्टेज (ट्रयाक)को ११.९२० किमीको दुरी ९ मिनट ५९ सेकेण्ड ५२ मिलिसेकेण्डमा पार गरे ।
विभिन्न ७ विधामध्ये इलिट पुरुष तर्फको उक्त विधामा उपाधि हात पार्दै रामाले नगद ५० हजार सहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।
त्यसैगरि सोही विधामा युकेका क्रिस्टोफर किलिङले दोस्रो र नेपालका प्रचित थापा मगरले तेस्रो स्थान बनाउन सफल भए । किलिङले सोही दुरी १० मिनट १६ सेकेण्ड ९७ मिलिसेकेण्डमा पार गरेभने प्रचितले १० मिनट ३६ सेकेण्ड १३ मिलिसेकेण्डमा पार गरे ।
यससँगै किलिङले नगद ३० हजार सहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरे भने प्रचितले नगद २० हजार सहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरे । त्यस्तै महिला तर्फ भने नेपालकी लक्ष्मी मगरले प्रथम, नेपालकै मिङ्गमा याङ्जी सेर्पाले दोस्रो र सिंगापुरकी इभोना सिया तेस्रो स्थान हासिल गर्न सफल भए ।
उनीहरुले १० किमी ५०० मिटरको दुरी क्रमशः ९ मिनट ५३ सेकेण्ड ४८ मिलिसेकेण्ड, ११ मिनट २५ सेकेण्ड ३१ मिलिसेकेण्ड र १५ मिनट ३५ सेकेण्ड ३६ मिलिसेकेण्डमा पार गरे । योसँगै उनीहरुले क्रमशः नगद रु ३५ हजार, २५ हजार र १५ हजार सहित प्रमाणपत्र, मेडर र गिफ्ट ह्याम्पर प्राप्त गरे ।

प्रतिक्रिया