एपीएफका गोपीचन्द्र पार्कीलाई नेपालगन्ज म्याराथनको उपाधि


नेपालगन्ज । नवौं नेपालगन्ज म्याराथनको उपाधि एपीएफका गोपीचन्द्र पार्कीले जितेका छन् । शनिबार भएको म्याराथनमा पार्कीले उपाधि जितेका हुन् । उनले यसअघिको संस्करणका विजेता नेपाली सेनाका खडकबहादुर खड्कालाई पछि पार्दै उपाधि जितेका हुन् । उपाधिसँगै पार्कीले २ लाख नगद पुरस्कार जितेका छन् ।

यसअघि उनले छैटौं संस्करणको उपाधि पनि जितेका थिए । खड्काले दोस्रो स्थानमा चित्त बुझाउँदै १ लाख पुरस्कार पाएका छन् । एपीएफकै किरणसिंह बोगटीले तेस्रो स्थान हासिल गर्दै नगद ५० हजार हात पारे । महिलातर्फ भने सन्तोषी श्रेष्ठले उपाधिमा ह्याट्रिक गरेकी छिन् । सातौं संस्करणबाट लगातार प्रथम स्थान हासिल गरेर श्रेष्ठले महिला म्याराथनमा ह्याट्रिक गरेकी हुन् ।

यस्तै फूलमती राना द्वितीय र पुष्पा भण्डारी तृतीय भएका छन् । प्रथम स्थान हासिल गरेकी सन्तोषीले ७५ हजार रुपैयाँ प्राप्त गरेकी छिन् । दोस्रो भएकी रानाले ५० हजार र तेस्रो हुन सफल भण्डारीले २५ हजार नगद हात पारेका छन् ।

ह्वीलचेयर दौडमा पनि पुरुष तथा महिलातर्फ अलगअलग शीर्ष तीनलाई ५ हजार, ३ हजार र २ हजार रुपैयाँबाट पुरस्कृत गरिएको छ । किड्स रनतर्फका विजेतालाई शैक्षिक उपहारबाट प्रोत्साहन गरिनेछ । कर्पोरेट पाँच किलोमिटर दौडमा विजेतालाई पदक र विभिन्न आकर्षक प्याकेजबाट सम्मानित गरिएको छ ।