नेपाल यमनसँग दुई शून्य गोलले पराजित


काठमाडौं । फिफा विश्वकपको दोस्रो चरणको छनोटमा नेपाल यमनसँग पराजित भएको छ । मंगलबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल यमनसँग २–शून्य गोलले पराजित भएको हो । यमनको जित उमर अल दाही र मोहम्मद अब्दुल्लाह अल दाहीले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेपाल दुई गोल खाँदै पराजित भएको हो । खेलको ७२ औं मिनेटमा उमर अल दाहीले गोल गर्दै यमनलाई अग्रता दिलाए । त्यसपछि खेलको नियमित समयको अन्तिम समयमा वान भर्सेस वानमा मोहम्मद अब्दुल्लाह अलदाहीले नेपाली गोलरक्षकलाई विट गर्दै सुन्दर गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

त्यसपछि नेपालले केही अवसर सृजना गरेपनि सफल हुन नसक्दा पराजित भएको हो । फिफा र्याङ्किङमा यमन १५६ औं स्थानमा छ भने नेपाल १७३ औं स्थानमा रहेको छ । नेपालले यसअघि भएको विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेलमा युएईसँग ४–० गोलले पराजित हुँदा यमन बहराइनसँग २–० गोलले पराजित भएको थियो ।