काठमाडौं । फिफा विश्वकप २०२६ को एसियाली छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले लाओससँग बराबरी खेलेको छ । बिहीबार दशरथ रङ्गशालामा भएको खेलमा नेपालले लाओससँग १–१ गोलको बराबरी गरे ।
खेलमा लाओसले शुरुवाती अग्रता लिएको थियो । उसका लागि खेलको ३३ औँ मिनेटमा कप्तान बौनफाचन बौनकोङले गोल गरे । पहिलो हाफमा लाओस १–० ले अघि रह्यो । खेलको दोस्रो हाफको ४९ मिनेटमा नेपालले बराबरी गोल फर्कायो । नेपालका लागि अञ्जन विष्टले गोल गरे । यो गोलसँगै अञ्जनले नेपालबाट अन्तर्राष्ट्रिय गोलमा कीर्तिमान बराबरी गरेका छन् ।
अञ्जनको यो १३ औँ अन्तर्राष्ट्रिय गोल हो । नेपालबाट हरि खड्का र निराजन रायमाझीको पनि अन्तर्राष्ट्रिय गोलको सङ्ख्या १३ छ । आफ्नो ६० औँ खेलमा सर्वाधिक गोलको कीर्तिमानी बराबरी गरेका अञ्जनले सन् २०१४ मा फिलिपिन्ससँग खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । नेपाल र लाओसबीचको दोस्रो लेग असोज ३० गते लाओसमा हुनेछ । दुई खेलमा अघि रहने टोली विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।

प्रतिक्रिया