पोखरा स्पोर्ट्स अवार्डको ट्रफी सार्वजनिक



पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही असार १८ गते पोखरामा हुने छैटौँ संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड–२०७८’ को सम्पूर्ण तयारी पूरा भएको छ । मञ्चले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी पोखरा सभागृहमा सञ्चालन हुने अवार्ड वितरण समारोहको आवश्यक सम्पूर्ण तयारी सकिएको जानकारी दिँदै कार्यक्रममा वितरण गरिने ट्रफीसमेत सार्वजनिक गरेको छ ।

मञ्चका अध्यक्ष दीननाथ बराल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सरिता तिम्सिना पङ्गेनी, मञ्चका पूर्वध्यक्ष विनोद लामिछानेलगायतले ट्रफी सार्वजनिक गरे । मञ्च अध्यक्ष बरालले स्पोर्ट्स अवार्डमा सात विधामा अवार्ड वितरण गरिने जानकारी दिए । उनका अनुसार ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल सङ्घ र वर्ष उत्कृष्ट खेल पत्रकार विधामा अवार्ड प्रदान गरिनेछ ।

मञ्चले लाइफ टाइम अचिभमेन्ट अवार्ड पूर्वअन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराईलाई प्रदान गर्ने निर्णयअघि नै गरेको छ । खेलाडीले पछिल्लो राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनलाई आधार मानेर अवार्ड प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले बताए ।

मञ्चले उत्कृष्ट खेलाडीको मनोनयनसमेत सार्वजनिक गरेको छ । जसमा वर्ष खेलाडी पुरुष विधामा ब्याडमिन्टनका विधान अधिकारी, कराँतेका बुद्ध लामा र टेनिसका प्रदीप खड्का छन् । वर्ष खेलाडी महिलामा भलिबलका अरुणा शाही, क्रिकेटका मनिषा उपाध्याय र कराँतेका सरगम कुमाल मनोनयनमा परेका छन् ।

यसैगरी उदीयमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटका सृष्टि जैशी र बक्सिङका शाहिल लिम्बू, उत्कृष्ट प्रशिक्षक विधामा क्रिकेटका रिजन प्रजु, तेक्वान्दोका रेकमाया गुरुङ र टेनिसका निरज थापा मनोनयन सूचीमा पर्नुभएकामा छनोट समितिले गरेको निर्णयका आधारमा उत्कृष्ट एक जनालाई अवार्ड वितरण हुनेछ ।

पोखरा स्पोर्ट्स अवार्डअन्तर्गत वर्ष खेलाडी पुरुष र महिलाले टेल जी ब्राण्डको टाइगर मोडलको इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कारस्वरुप प्राप्त गर्नेछन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद सङ्घ, उत्कृष्ट खेल पत्रकारलाई नगद रु३५ हजारका साथमा ट्रफी प्रदान गरिने मञ्चले जनाएको छ ।

यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने व्यक्तिलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । अवार्ड कार्यक्रमको थप आकर्षणका रूपमा गायक विनोद बानियाँ, हास्यकलाकार युवराज भण्डारी, गायक सन्तोष बस्याल, गायिका प्राप्ति तुलाचन, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको प्रत्यक्ष दोहोरी, गण्डकी प्रज्ञा–प्रतिष्ठानको सांस्कृतिक नृत्य, गण्डकी बि व्वाइजको बिबोइङ नृत्य, गजल वाचन र डेमोस्ट्रेशन रहने मञ्च अध्यक्ष बरालले जानकारी दिए ।

मञ्चले विसं २०७२ देखि खेलकुदका माध्यमबाट राष्ट्रको शिर उँचो राख्न सक्षम खेलाडी तथा खेल क्षेत्रमा लागेका व्यक्तिलाई हौसला प्रदान गर्न बर्सेनि स्पोर्ट्स अवार्ड प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हङकङलाई १४० रनको लक्ष्य

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि हङकङलाई १४० रनको लक्ष्य

आइओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

  अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले  ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एजेन्डा सुरू गरेको

‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट

काठमाडौँ । विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित

एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो