सङ्कटालाई हराउँदै मच्छिन्द्र आहा रारा गोल्डकपको सेमिफाइनलमा



पोखरा । साबिक विजेता सङ्कटा फुटबल क्लबलाई फराकिलो गोल अन्तरले हराउँदै मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्ड कप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सहारा क्लब पोखराको आयोजनामा यही माघ ६ गतेदेखि पोखरा रङ्गशालामा जारी प्रतियोगिताको सोमबार भएको तेस्रो क्वार्टरफाइनलमा शहीद स्मारक ‘ए’ डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्रले मेसुके ओलुमोउको उत्कृष्ट दुई गोलको मद्दतमा आहा ! राराको डिफेन्डिङ च्याम्पियन सङ्कटालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

टोलीका महत्वपूर्ण आधा दर्जन खेलाडी राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा सहभागी भएपछि मच्छिन्द्रले दोस्रो रोजाइका खेलाडी लिएर मैदान उत्रिएको थियो ।

खेलमा मच्छिन्द्रले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । सङ्कटाले दोस्रो हाफमा एक गोल फर्कायो । सुरुवातमा डिफेन्डिङ च्याम्पियन सङ्कटाले मच्छिन्द्रलाई दबाबमा राखे पनि गोल गर्न सकेको थिएन । खेलको १३ औँ मिनेटमा मच्छिन्द्रले उत्सव राईको गोलमार्फत खेलमा अग्रता बनायो ।

पेनाल्टी क्षेत्र नजिकबाट राईको शक्तिशाली प्रहार सिधै गोलमा परिणत भएको थियो । पहिलो हाफमा १–० को अग्रता बनाएको मच्छिन्द्रले खेलको ४७औँ मिनेटमा अग्रता दोब्बर बनायो ।

अभिषेक रिजालको क्रसपासमा पेनाल्टी क्षेत्रमा अनमार्क रहेका मेसुकेले दुई रक्षापङ्क्तिका खेलाडी र गोलकिपरलाई छक्काएर गोल गर्न सफल भएका थिए । वैकल्पिक खेलाडीका रुपमा दोस्रो हाफमा मैदान छिरेका सङ्कटाका गणेश हमालले खेलको ६३औँ मिनेटमा कर्नरमा आएको बललाई हेडमार्फत गोल गर्दै सङ्कटालाई खेलमा फर्काउने प्रयास गरेपनि त्यो सफल हुन सकेन ।

मच्छिन्द्रका अभिषेक गुरुङले ८४ औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता बढाए । फ्री किकमा गोलकिपरबाट रिवाउन्ड बललाई नियन्त्रणमा लिँदै उनी गोल गर्न सफल भएका थिए । त्यसैगरी खेलको ‘म्यान अफ दी म्याच’ घोषित मच्छिन्द्रका मेसुकेले ८६औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै अन्तर फराकिलो बनाए । नाथानिल जुडे गार्सियाको पासमा मेसुकेले गोल गरेका थिए ।

मच्छिन्द्र राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा यथावत छ । मच्छिन्द्रले एएफसी एसियन कपमा नेपालको प्रतिनिधित्व गर्दै छनोट भएको छ । प्रतियोगितामा अब मच्छिन्द्रले फाइनल प्रवेशका लागि बुधबार सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबसँग खेल्नेछ ।

प्रतियोगिताअन्तर्गत चौथो तथा अन्तिम क्वार्टरफाइनलको खेलमा मङ्गलबार थ्री स्टार फुटबल क्लब र नेपाली सेनाको विभागीय त्रिभुवन आर्मी फुटबल क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।

आगामी माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लबका अध्यक्ष हरिराम गुरुङले जानकारी दिए । यसैगरी प्रतियोगिताको उत्कृष्ट पाँच विधाका खेलाडीहरूलाई जनही २५ हजारका दरले पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको