काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुवेतका अब्दुला अल्मुटाइरीलाई नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकको रुपमा नियुक्त गरेको छ ।
एन्फाले आइतबार एक कार्यक्रमको आयोजना गरी अल्मुटाइरीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिने घोषणा गरेको हो । काठमाडौंमा सम्पन्न थ्री नेशन्स कपमा नेपाललाई उपाधि दिलाएका प्रशिक्षक बालगोपाल महर्जनलाई प्रतिस्थापन गर्दै अल्मुटाइरी एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।
नेपालले थ्री नेशन्स कपमा उचालेको उपाधिले नेपाली समर्थक धेरै खुसी दिएजस्तै आगामी दिनमा नेपाली समर्थलाई खुसी दिलाउनका लागि मेहनत गर्ने नवनियुक्त प्रशिक्षक अल्मुटाइरीले बताए ।
आइतबार नियुक्ति पाएका ४० वर्षीय अल्मुटाइरीले नेपाली टोलीलाई कम्तीमा एक वर्ष हेर्नेछन् । यस समय अवधिमा कम्तिमा विश्वकप छनोट र साफ च्याम्पियनसिपमा नेपाली टिमको नेतृत्व लिनेछन् । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले राष्ट्रिय टिमका प्रशिक्षक हुन प्रो–लाइसेन्स अनिवार्य गरेपछि अल्मुटाइरीको नेपाली फुटबलमा प्रवेश भएको हो ।
थ्री नेशन्स कपको उपाधि दिलाएका प्रशिक्षक बालगोपाल महर्जनलाई एन्फाले प्रो–लाइसेन्सका लागि कतार पठाउने निर्णय गरेको प्रवक्ता किरण राईले जानकारी दिए ।

प्रतिक्रिया