नेपाललाई नश्लीय घृणाको आगोमा नजलाऔँ


जातले होइन, कर्मले चिनिन्छ मान्छे

दीपक राज रेग्मी

पोखराको टुँडिखेलमा रहेको त्यो पुरानो ऐतिहासिक विद्यालय मेरो स्मृतिमा आज पनि उत्तिकै ताजा छ। गुरुङ, नेवार, बाहुन र क्षेत्री समुदायको उल्लेख्य उपस्थिति रहेको त्यस विद्यालयको कक्षाकोठामा जातीय विभेद होइन, सहअस्तित्व र समानताको सुन्दर अभ्यास थियो।

म स्वयं २०४० सालको एसएलसी ब्याचको विद्यार्थी हुँ। मेरा नौ विषयमध्ये दुई विषय गुरुङ शिक्षकले, तीन विषय नेवार शिक्षकले, तीन विषय बाहुन शिक्षकले र एउटा विषय क्षेत्री शिक्षकले पढाउनुहुन्थ्यो। शिक्षकहरू विभिन्न समुदायका हुनुहुन्थ्यो, विद्यार्थीहरू पनि विभिन्न समुदायका थिए। कक्षामा सबै विद्यार्थीलाई समान व्यवहार गरिन्थ्यो। तर एसएलसीको नतिजा आयो, उत्तीर्ण हुने विद्यार्थी भने तीन जना बाहुन मात्र भए।

यसलाई जातीय श्रेष्ठताको प्रमाण मान्नु गलत हुन्छ। तर यसले एउटा महत्त्वपूर्ण सत्य सम्झाउँछ, अवसर समान हुँदा पनि परिणाम केवल जातले होइन, व्यक्तिको क्षमता, मेहनत, रुचि, अनुशासन, पारिवारिक वातावरण र परिस्थितिले निर्धारण गर्छन्।

आफ्नै जीवनको यही अनुभवले आज नेपालमा देखिन थालेको नश्लीय तथा जातीय श्रेष्ठताको चिन्तनलाई बुझ्न र त्यसको जवाफ खोज्न मलाई एउटा महत्त्वपूर्ण आधार दिएको छ।

प्रकृतिले सिकाएको पहिलो पाठ ‘विविधता’

इतिहास आ-आफ्नो हुन सक्छ, संस्कृति आ-आफ्नो हुन सक्छ, भाषा र परम्परा फरक–फरक हुन सक्छन्। तर हामी सबैभन्दा पहिले मानव हौँ र त्यसपछि नेपाली।

प्रकृतिले कसैलाई जातका आधारमा ठूलो वा सानो बनाएर पठाएको छैन। प्रकृतिको सबैभन्दा ठूलो विशेषता नै विविधता हो। सृष्टिमा उत्पन्न भएका कुनै पनि दुई वस्तु वा प्राणी पूर्णतः उस्तै हुँदैनन्। फरक हुनु प्रकृतिको कमजोरी होइन; प्रकृतिको नियम र सौन्दर्य हो।

ढुंगाकै उदाहरण लिऔँ। सबै ढुंगा एउटै हुँदैनन्। कुनै सामान्य ढुंगा हुन्छ, कुनै ग्रेनाइट, कुनै संगमरमर, कुनै क्वार्ट्ज त कुनै पन्ना, नीलम वा हीराजस्ता बहुमूल्य रत्न। तिनको बनावट, कठोरता, रङ, चमक र उपयोग फरक हुन्छ। घर बनाउन एउटा उपयोगी होला, मूर्ति बनाउन अर्को र गहना बनाउन अर्को। फरक गुण भएकै कारण प्रकृतिमा तिनको आ-आफ्नो स्थान छ।

बिरुवाको संसार झन् अद्भुत छ। बरले छहारी दिन्छ। पीपलको धार्मिक र पर्यावरणीय महत्त्व छ। तुलसी औषधीय तथा सांस्कृतिक रूपमा महत्त्वपूर्ण छ। धानले अन्न दिन्छ। बाँस घर निर्माणदेखि हस्तकलासम्म उपयोगी हुन्छ। एउटै स्याउका पनि अनेक जात छन्-स्वाद, रङ, आकार, उत्पादन र उपयोग फरक-फरक।

चराहरूलाई हेरौँ। गरुडको उडान र दृष्टि विशेष हुन्छ। हाँस पानीमा सहजै चल्छ। कोइलीको स्वर विशिष्ट हुन्छ। काग अत्यन्त अनुकूलनशील हुन्छ। भँगेराको जीवनशैली आफ्नै हुन्छ। सबै चराले एउटै काम गर्दैनन्। कसैले बीउ फैलाउँछ, कसैले कीरा नियन्त्रण गर्छ त कसैले वातावरणीय सन्तुलनमा योगदान पुर्‍याउँछ।

माछाका पनि असंख्य प्रजाति छन्। कोही नदीमा बस्छन्, कोही तालमा त कोही समुद्रमा। कसैको शरीर सानो हुन्छ, कसैको ठूलो। कसैको पौडिने क्षमता अद्भुत हुन्छ।

सर्पका पनि अनेक प्रजाति छन्। कसैमा विष हुन्छ, कसैमा हुँदैन। तिनका आ–आफ्नै प्राकृतिक भूमिका छन्।

यदि प्रकृतिले ढुंगा, बिरुवा, चरा, माछा र सर्पमा यति धेरै विविधता स्वीकार गरेको छ भने मानिसले मानिसबीचको विविधतालाई घृणाको कारण किन बनाउने?

मानिस पनि प्रकृतिको सिर्जना हो—फरक भएर पनि एउटै मानव प्रजाति

अब मानिसतर्फ फर्कौँ।

मानिस प्रकृतिबाहिरबाट आएको कुनै अलग संसारको प्राणी होइन। मानिस पनि यही प्रकृतिको सिर्जना र लामो जैविक विकासक्रमको परिणाम हो।

वैज्ञानिक प्रमाणअनुसार आधुनिक मानव होमो सेपियन्स (Homo sapiens) को प्रारम्भिक विकास अफ्रिकामा भएको मानिन्छ। मानव विकासक्रमको लामो यात्रामा आधुनिक मानव त्यहीँबाट संसारका विभिन्न भूभागमा फैलिँदै गयो। मानिसहरूले हिमाल, जङ्गल, मरुभूमि, नदी र समुद्र पार गर्दै फरक–फरक वातावरणमा बसोबास गरे। त्यस क्रममा भाषा, संस्कृति, खानपान, रहनसहन, परम्परा र सामाजिक संरचनामा अनेकौँ विविधता विकास भए।

तर एउटा कुरा बदलिएको छैन—हामी सबै एउटै मानव प्रजातिका हौँ।

त्यसैले कसैको छालाको रङ, नाक–नक्सा, भाषा, थर, जात वा सांस्कृतिक पहिचानलाई आधार बनाएर एउटा मानिस अर्कोभन्दा जन्मजात श्रेष्ठ वा हीन हुन्छ भन्नु वैज्ञानिक र मानवीय दुवै दृष्टिले गलत हो।

प्रकृतिले विविधता सिर्जना गर्‍यो; मानिसले त्यसलाई आफ्नो पहिचान बनायो। प्रकृतिले फरक वातावरण दियो; मानिसले फरक संस्कृति निर्माण गर्‍यो। तर प्रकृतिले कसैलाई अर्को मानिसलाई घृणा गर्ने अधिकार दिएको छैन।

यही कुरा नेपालको सन्दर्भमा अझ महत्त्वपूर्ण हुन्छ।

नेपालमा लिम्बू, राई, तामाङ, नेवार, गुरुङ, मगर, शेर्पा, थारू, मधेसी, दलित, बाहुन, क्षेत्रीलगायत अनेक समुदाय छन्। हिमालदेखि पहाड र तराईसम्म फरक भूगोलमा बस्दै आएका यी समुदायले आ–आफ्ना भाषा, संस्कृति, परम्परा, ज्ञान र जीवनपद्धति विकास गरेका छन्।

कसैको मुन्धुममा प्रकृति बोल्छ, कसैको लोकगीतमा पहाड बोल्छ, कसैको वास्तुकलामा सभ्यता बोल्छ, कसैको ज्ञान परम्परामा दर्शन बोल्छ त कसैको श्रम र सीपमा नेपाली समाजको निर्माण देखिन्छ।

यी सबै फरक धार अन्ततः एउटै नेपाली सभ्यताको नदीमा मिसिएका छन्।

नेपालका हरेक समुदायको आफ्नै योगदान छ।

बाहुन समुदायको इतिहास शिक्षा, अध्ययन, लेखन, दर्शन र ज्ञान परम्परासँग जोडिएको छ। क्षेत्री समुदायको इतिहास राज्य सञ्चालन, सैनिक सेवा, प्रशासन र नेतृत्वसँग जोडिएको छ। नेवार समुदायले कला, वास्तुकला, मूर्तिकला, व्यापार र सहरी सभ्यतामा असाधारण योगदान पुर्‍याएको छ। गुरुङ समुदायको आफ्नै समृद्ध भाषा, संस्कार, लोकगीत, लोकनृत्य, सामाजिक परम्परा तथा सैनिक सेवाको गौरवपूर्ण इतिहास छ।

लिम्बूको मुन्धुम, राईको सांस्कृतिक परम्परा, मगरको लोकसंस्कृति, तामाङको मौलिक परम्परा, शेर्पाको हिमाली जीवनज्ञान तथा अन्य समुदायका आफ्नै विशिष्ट सांस्कृतिक सम्पदा छन्।

दलित समुदायको योगदानलाई पनि यही सम्मानको दृष्टिले हेर्नुपर्छ। परम्परागत रूपमा दलित समुदायका विभिन्न समूहले धातुकला, काठकला, छालाकला, सिलाइ–बुनाइ, बाजागाजा, मूर्तिकला, हस्तकला, निर्माण तथा विभिन्न सीप र श्रमका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्। नेपाली समाजका धेरै परम्परागत सीप, बाजा, औजार र हस्तकलाको संरक्षणमा उनीहरूको पुस्तौँदेखिको योगदान छ।

तर कुनै समुदायको ऐतिहासिक योगदान र हरेक व्यक्तिको व्यक्तिगत गुण एउटै कुरा होइन।

हरेक बाहुन विद्वान् हुँदैन। हरेक क्षेत्री प्रशासक वा शासक हुँदैन। हरेक नेवार कलाकार वा व्यापारी हुँदैन। हरेक गुरुङ सैनिक हुँदैन। त्यसैगरी हरेक दलितलाई पनि एउटै पेसा वा गुणमा सीमित गर्न मिल्दैन।

समुदायको इतिहासलाई सम्मान गरौँ, तर व्यक्तिको मूल्याङ्कन उसको कर्म, क्षमता र चरित्रबाट गरौँ।

जात होइन, कर्मले बनाउँछ राष्ट्रिय गौरव

यसलाई बुझ्न हामीले आफ्नै नेपाली समाजका महान् व्यक्तित्वहरूलाई सम्झिए पुग्छ।

लैनसिंह बाङ्देल हुन् कि अम्बर गुरुङ, सत्यमोहन जोशी हुन् कि हर्क गुरुङ, देवकोटा हुन् कि माधव घिमिरे, स्वामी प्रपन्नाचार्य हुन् कि योगी नरहरिनाथ, नारायणगोपाल हुन् कि भक्तराज आचार्य, तारादेवी हुन् कि अरुणा लामा।

यी नाम उच्चारण गर्दा हामी के सम्झन्छौँ—उहाँहरूको जात कि उहाँहरूको योगदान?

यी व्यक्तित्वहरूको सामाजिक तथा जातीय पृष्ठभूमि फरक हुन सक्छ। तर जब उहाँहरूको नाम नेपालको कला, साहित्य, सङ्गीत, संस्कृति, इतिहास, दर्शन र ज्ञानसँग जोडिन्छ, त्यहाँ जातको सीमारेखा आफैँ हराउँछ।

उहाँहरू कुनै एक जातिका मात्र होइनन्; उहाँहरू नेपालका साझा गौरव हुन्।

महान् साहित्यकारको कृति पढ्दा उसको जात खोजिँदैन। सङ्गीत सुन्दा गायकको जात सुनिँदैन। कलाकारको सिर्जना हेर्दा उसको थर देखिँदैन। विद्वान्को ज्ञान ग्रहण गर्दा उसको जन्मजात पहिचानले ज्ञानको मूल्य घटाउँदैन।

महान् बनाउने कुरा जन्म होइन, कर्म हो; जात होइन, योगदान हो; थर होइन, चरित्र हो।

आधुनिक नेपालको स्थापना भएदेखि आजसम्म राज्यसत्ताको नेतृत्व र प्रशासनिक संरचनामा बाहुन–क्षेत्री समुदायको उल्लेख्य उपस्थिति रहँदै आएको इतिहासलाई नकार्न सकिँदैन। राष्ट्र निर्माण, प्रशासन, शिक्षा, सुरक्षा, कूटनीति तथा सामाजिक रूपान्तरणका विभिन्न क्षेत्रमा उनीहरूले पुर्‍याएको योगदानलाई पनि अस्वीकार गर्न मिल्दैन।

तर इतिहासको कुनै कालखण्डमा कुनै समुदायको राज्यसत्तामा बढी उपस्थिति थियो भन्दै त्यसैलाई आधार बनाएर ‘बाहुन–क्षेत्रीले देश लुटे’ भन्ने एकाङ्गी निष्कर्ष निकाल्नु इतिहासको वस्तुनिष्ठ मूल्याङ्कन होइन। यस्तो सोचले योगदान, परिस्थिति र ऐतिहासिक सन्दर्भलाई बेवास्ता गर्छ र समाजलाई जातीय द्वेषतर्फ धकेल्छ।

नेपालको इतिहासलाई दोषारोपणको जातीय चस्माबाट होइन, तथ्य, योगदान र समग्र ऐतिहासिक परिस्थितिको दृष्टिले हेर्न आवश्यक छ।

जहाँ कमजोरी छन्, त्यहाँ आलोचना हुनुपर्छ। जहाँ विभेद र अन्याय भएका छन्, तिनको पहिचान, समीक्षा र सम्बोधन पनि हुनुपर्छ। तर केही व्यक्तिको गल्ती वा कमजोरीको दोष सम्पूर्ण समुदायमाथि थोपर्नु न्यायसङ्गत हुँदैन।

आजको आवश्यकता विगतको योगदानलाई सम्मान गर्दै विभाजन होइन, समानता, सहकार्य र साझा राष्ट्रिय पहिचान निर्माण गर्नु हो।

कुनै जातिका केही व्यक्तिको कमजोरीलाई सम्पूर्ण जातिको चरित्र बनाउनु अन्याय हो। कुनै समुदायलाई होच्याएर अर्को समुदाय महान् बन्न सक्दैन।

घृणाको उत्तर अर्को घृणा हुन सक्दैन।

नेपालको चौतारी सबैको हो

नेपालको इतिहास केवल एउटै जातिको इतिहास होइन। तर कुनै एउटा समुदायको योगदान नै छैन भन्नु पनि इतिहासको अपमान हो।

हाम्रा गाउँका चौतारीले कहिल्यै जात सोधेर छायाँ दिएका थिएनन्। धाराको पानीले कसैलाई जात सोधेको थिएन। खेतको माटोले कसको जात हो भनेर अन्न फलाएको थिएन। हिमालले थर सोधेको छैन। नदीले भाषा सोधेको छैन।

त्यसैले हामीले आफ्ना छोराछोरीलाई सिकाउनुपर्छ—

आफ्नो जातमा गर्व गर, तर अर्को जातिलाई घृणा नगर। आफ्नो भाषा बोल, तर अर्को भाषाको अपमान नगर। आफ्नो संस्कृति जोगाऊ, तर अर्को संस्कृतिलाई नष्ट नगर। आफ्नो इतिहास खोज, तर अर्काको इतिहास मेट्न नखोज। आफ्नो अधिकार माग, तर अर्काको अधिकार नखोस।

अन्ततः म आफ्नै २०४० सालको एसएलसीको त्यो कक्षाकोठालाई सम्झन्छु।

त्यहाँ गुरुङ शिक्षक हुनुहुन्थ्यो, नेवार शिक्षक हुनुहुन्थ्यो, बाहुन शिक्षक हुनुहुन्थ्यो र क्षेत्री शिक्षक हुनुहुन्थ्यो। विद्यार्थीहरू पनि विभिन्न जातजातिका थिए। कसैले कसैलाई जातका आधारमा ठूलो–सानो मानेन। सबैले एउटै कक्षामा पढ्यौँ, एउटै शिक्षकबाट शिक्षा लियौँ र एउटै परीक्षा दियौँ। तर नतिजामा तीन जना बाहुन विद्यार्थी मात्र उत्तीर्ण भए।

त्यो नतिजाले बाहुन जात श्रेष्ठ छ भन्ने प्रमाण दिएन; गुरुङ, नेवार वा क्षेत्री कमजोर छन् भन्ने पनि प्रमाणित गरेन।

त्यसले केवल एउटा सरल सत्य सम्झायो—अवसर समान हुँदा पनि परिणाम व्यक्तिको क्षमता, मेहनत, रुचि, अनुशासन र परिस्थितिले निर्धारण गर्न सक्छन्; जातले होइन।

त्यसैले नश्लीय चिन्तन बोकेर समाजलाई ‘हामी’ र ‘उनीहरू’ मा बाँड्न खोज्नेहरूलाई हाम्रो आफ्नै जीवन र इतिहासले स्पष्ट जवाफ दिन्छ-नेपालको सुन्दरता एउटै जाति हुनुमा होइन; गुरुङ, मगर, लिम्बू, राई, तामाङ, नेवार, शेर्पा, थारू, मधेसी, दलित, बाहुन, क्षेत्रीलगायत अनेक समुदाय एउटै चौतारीमा बसेर एउटै देशको भविष्य सोच्न सक्नुमा छ।

हिजो पनि हामी यही चौतारीमा बसेका थियौँ, एउटै खोलाको पानी पिएका थियौँ। आज पनि यही चौतारी हाम्रो साझा हो र यही खोलाको पानी हाम्रो साझा हो। भोलि हाम्रा सन्तानले पनि यही चौतारीमा बसेर एक–अर्कालाई जातले होइन, मान्छे र नेपाली भनेर चिनून्।

प्रकृतिले विविधता बनाएको हो, विभाजन होइन।

अस्तु।