ललितपुर महानगरपालिकाबाट गौतमबुद्ध रङ्गशालालाई २० लाख सहयोग
ललितपुर । ललितपुर महानगरपालिकाले चितवन जिल्लामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालालाई २० लाख आर्थिक सहयोग गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले धुर्मुस– सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।
प्रमुख महर्जनले सरकारले गर्नुपर्ने कामको जिम्मा फाउण्डेशनले लिएर गरेकामा धुर्मुस–सुन्तलीको प्रशंसा गर्दै रङ्गशालाले नेपाललाई अन्तर्राष्ट्रियस्तरको ख्याति प्रदान गर्ने विश्वास व्यक्त गरे ।
फाउण्डेशनका अध्यक्ष कट्टेलले रङ्गशाला निर्माणको काम ८५ प्रतिशत सम्पन्न भइसकेको बताए । रङ्गशालामा २२ विधाका खेल खेल्न सकिन्छ । रङ्गशालामा ७७ जिल्लाका नाममा फरकफरक कक्ष निर्माण हुनेछ जसमा ललितपुर नामक कक्ष पनि निर्माण गरिने छ ।