आफ्नो पहिलो कारको खोजीमा सचिन तेन्दुलकर
भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकरले आफ्ना समर्थकहरूसँग आफ्नो पहिलो कार पत्ता लगाउन सहयोग मागेका छन् । कारका सोखिन विश्वका सबैभन्दा सफल क्रिकेट खेलाडी मानिने तेन्दुलकरले त्यो कार मारुती ८०० भएको बताएका छन् ।
सो कार सन् १९९० तिर भारतीयहरूबीच चर्चित थियो । उनले कारको बारेमा थाहा भएका व्यक्तिलाई आफूलाई सम्पर्क गर्न भनेका छन् र थप विवरण दिएका छैनन् । तेन्दुलकरले सन् २०१३ मा क्रिकेटबाट सन्यास लिएका थिए तर उनी अझै पनि भारतमा चर्चित सार्वजनिक व्यक्तित्व हुन् ।
उनले इन्टरनेटको एउटा च्याटमा आफू व्यवसायिक क्रिकेट खेलाडी बन्ने बित्तिकै सो कार किनेको बताएका छन् । त्यो समय मारुती ८०० एउटा कार मात्रै नभएर भारतीयहरूको सपना र सामाजिक प्रतिष्ठाको विषय थियो। सन् २०१४ मा मारुतीले सो कारको उत्पादन रोक्ने घोषणा गर्दा धेरै भारतीयले सो कारको बारेमा आफ्नो पुरानो सम्झनाहरू लेखेका थिए ।
तेन्दुलकरले अरू नयाँ कारहरू किनेपछि सो कार बेचेको बताएका छन् । उनले किन आफू कारप्रति सोखिन भए भनेर पनि बताएका छन् । तेन्दुलकर टेस्ट र एकदिवसीय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने खेलाडी हुन्।
उनले १९८ टेस्टमा १५,८३७ रन र ४६३ एकदिवसीय खेलमा १८,४२६ रन बनाएका छन् । सन् १९८९ को नोभेम्बरमा १६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेका उनी सन् २०१२ मा क्रिकेटमा १०० पटक एक सय वा बढी रन बनाउने एक मात्र खेलाडी बनेका थिए । उनी दुई पटक भारतका कप्तान भएका थिए।