एकता, सहिष्णुता र सहअस्तित्वलाई कमजोर पार्ने कुनै पनि गतिविधिमा संलग्न नहुन दलहरुको संयुक्त अपील


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा हालै भएका संवेदनशील घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, शान्ति र संवादमार्फत समाधान खोज्न संयुक्त वक्तव्य तथा अपील जारी गरेको छ ।

बैठकले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

संयुक्त वक्तव्यमा नेपालको विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्वलाई कमजोर पार्ने कुनै पनि गतिविधिमा संलग्न नहुन आम नागरिकलाई आग्रह गरिएको छ। आवेग र मुठभेडले समस्या समाधान नगर्ने उल्लेख गर्दै सबै पक्षलाई संयमता अपनाउन अपील गरिएको छ।

बैठकले लोकतान्त्रिक प्रणालीमा देखिएका असन्तुष्टि र विवादको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्र सम्भव हुने उल्लेख गर्दै सम्बन्धित पक्षलाई आफ्ना माग शान्तिपूर्ण ढंगले राख्न आग्रह गरेको छ।

साथै, प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी स्थानीय स्तरमै संवाद र विश्वासको वातावरण निर्माण गर्न दलका मातहतका समितिलाई निर्देशन दिइएको छ। धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनबीच समन्वय बढाएर सामाजिक सद्भाव कायम राख्नुपर्नेमा पनि बैठकले जोड दिएको छ।

वक्तव्यमा भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन राजनीतिक दलहरूले केन्द्रीय तहबाट आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

बैठकले सामाजिक सञ्जालमा फैलिन सक्ने भ्रामक सूचना, अफवाह र घृणास्पद अभिव्यक्तिप्रति सचेत रहन आग्रह गर्दै सञ्चारमाध्यमलाई तथ्यपरक र संयमित सूचना मात्र सम्प्रेषण गर्न अनुरोध गरेको छ।

सर्वदलीय बैठकले नेपाल सरकारलाई अधिकतम संयमता अपनाई परिस्थिति सामान्य बनाउन, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन पनि आग्रह गरेको छ।

बैठकमा सहभागी राजनीतिक दलहरूले राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षा गर्दै देशमा शान्ति कायम राख्न सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।