काठमाडौं । अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा प्रहरीले काठमाडौंको टोखाबाट एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका–२ घर भई काठमाडौंको टोखामा बस्दै आएका ४४ वर्षीय लक्ष्मण गुरुङ रहेका छन् ।
मंगलबार दिउँसो करिब १ बजे टोखा नगरपालिका–१ भण्डारे क्षेत्रमा अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उक्त क्षेत्रमा जाँच गरेको थियो ।
जाँचका क्रममा गुरुङको साथबाट अखाद्य पदार्थ मिसाइएको भनिएको १५ बाल्टिन मह बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद महको तौल ३८४ किलोग्राम रहेको छ ।
प्रहरीले गुरुङलाई बरामद महसहित नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया