सर्लाही । मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका नागरिकका परिवारलाई गाउँपालिकाले जनही ५० हजार रुपैयाँ आर्थिक सहायता दिने भएको छ ।
चक्रघट्टा गाउँपालिकाले मृतकको अन्तिम संस्कार तथा काजक्रिया कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रतिमृतकका परिवारलाई ५० हजार रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो ।
काठमाडौँबाट सर्लाहीको चक्रघट्टा आउँदै गरेको विद्युतीय सवारीसाधन बिहीबार बिहान मकवानपुरको भीमफेदी क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चक्रघट्टा–४ सुन्दरपुरका एक गर्भवती महिलासहित १४ जनाको मृत्यु भएको थियो ।
दुःखद घटनाप्रति शोक व्यक्त गर्दै गाउँपालिकाले आज गाउँपालिका क्षेत्रभर स्थानीय शोक बिदा घोषणा गरेको छ ।
गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवद्वारा जारी सूचनाअनुसार गाउँ कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय र सरकारी तथा गैरसरकारी कार्यालयमा एक दिनका लागि शोक बिदा दिइएको छ ।
शोक बिदाका दिन नियमित सेवा प्रवाह बन्द रहने भए पनि स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक स्वास्थ्य सेवा भने नियमित सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रतिक्रिया