तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहसहितका प्रमुख संरचना निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ।
आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युत्गृह, सुरुङ तथा सम्बन्धित उपकरण जडानको काम तीव्र गतिमा अघि बढिरहेको छ। चीनको सिनो हाइड्रो कर्पोरेसनले निर्माण गरिरहेको यस प्याकेजअन्तर्गत भूमिगत संरचनाको उत्खनन कार्य सम्पन्न भइसकेको छ भने अधिकांश सिभिल संरचना निर्माण पूरा भएको छ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार भूमिगत विद्युत्गृह, टेलरेस सुरुङ, केबल सुरुङ, सर्ज साफ्ट, इन्टेक तथा ड्राफ्टट्युब सुरुङ र पेनस्टकको ब्याकफिल कङ्क्रिटिङलगायत प्रमुख संरचनाको उत्खनन तथा कङ्क्रिटिङ कार्य अन्तिम चरणमा पुगेको छ। मुख्य सुरुङको कङ्क्रिट लाइनिङको काम पनि अन्तिम चरणमा रहेको उनले जानकारी दिए।
भूमिगत विद्युत्गृहमा विद्युत् उत्पादनका लागि आवश्यक उपकरण जडान तथा परीक्षणको कामसमेत अघि बढाइएको छ। विद्युत्गृहमा जेनेरेटर, टर्बाइन, सिसिटिभी, ट्रान्सफर्मरलगायत इलेक्ट्रोमेकानिकल उपकरण जडान भइरहेको आयोजना प्रमुख भण्डारीले बताए।
त्यस्तै, वातावरणीय बहाव व्यवस्थापनका लागि निर्माण गरिने संरचना तथा बाँध सञ्चालन भवनको निर्माण पनि जारी छ। सिभिल संरचना निर्माणसँगै उपकरण जडान र परीक्षणको कामलाई समानान्तर रूपमा अघि बढाइएको आयोजनाले जनाएको छ।
प्याकेज–२ अन्तर्गतका संरचना तथा उपकरण जडानको काम सम्पन्न भएपछि आयोजनाको विद्युत् उत्पादन प्रणाली सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार हुनेछ।

प्रतिक्रिया