काठमाडौँ । नेपालमा बढ्दो सडक दुर्घटना, चोटपटक र मृत्यु न्यूनीकरण गर्ने उद्देश्यले तयार पारिएको ‘सडक सुरक्षा पुस्तिका’ काठमाडौँमा विमोचन गरिएको छ। बागमती प्रदेशका विभिन्न स्थानीय तह र समुदायका सदस्यसँगको सहकार्यमा नेपाल तथा बेलायतका अनुसन्धानकर्ताले तयार पारेको उक्त पुस्तिका बुधबार सार्वजनिक गरिएको हो।
स्थानीय तहका जनप्रतिनिधि तथा अधिकारीलाई लक्षित गरी तयार पारिएको पुस्तिकाले सडक दुर्घटना बढी हुने स्थान पहिचान, दुर्घटनाका कारण विश्लेषण, सडक सुरक्षा योजना निर्माण तथा प्रभावकारी कार्यान्वयनका लागि मार्गदर्शन गर्नेछ। यसले स्थानीय सरकारलाई सडक सुरक्षासम्बन्धी कार्यक्रम तर्जुमा, बजेट विनियोजन र प्रगति अनुगमन गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
काठमाडौँ मेडिकल कलेजस्थित नेपाल इन्जुरी रिसर्च सेन्टरको नेतृत्वमा बेलायतको युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ग्ल्यान्ड (यूडब्ल्यूई) ब्रिस्टल र इम्पेरियल कलेज लन्डनको साझेदारी तथा सेफ एन्ड सस्टेनेबल ट्राभल नेपाल (एसएसटीएन) को सहकार्यमा सञ्चालित ‘सेफट्रिप नेपाल’ अनुसन्धान परियोजनाअन्तर्गत पुस्तिका तयार पारिएको हो। परियोजनालाई बेलायतको नेसनल इन्स्टिच्युट फर हेल्थ एन्ड केयर रिसर्च (एनआईएचआर) ले आर्थिक सहयोग गरेको छ।
बागमती प्रदेशका बनेपा, बेलकोटगढी, कालिका, पनौती र रत्ननगर नगरपालिका तथा बकैया, भीमफेदी र गल्छी गाउँपालिकामा गठित सामुदायिक सडक सुरक्षा मञ्चसँगको सहकार्यमा पुस्तिका तयार गरिएको हो। स्थानीय समुदायका अनुभव र सुझाव समेटेर तयार पारिएको पुस्तिकाले सडक सुरक्षासम्बन्धी निर्णय प्रक्रियामा समुदायको सहभागिता बढाउनसमेत जोड दिएको छ।
पुस्तिका विमोचन कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले स्थानीय सडक सुरक्षा व्यवस्थापनमा अग्रणी भूमिका खेलेका पालिकाहरूको प्रशंसा गरे। उनले पुस्तिका देशभरका स्थानीय सरकारले अपनाउने र सामुदायिक सहकार्यबाट सडक दुर्घटनाका कारण हुने अकाल मृत्यु रोक्न योगदान पुग्ने विश्वास व्यक्त गरे।
यूडब्ल्यूई ब्रिस्टलकी प्राध्यापक तथा सेफट्रिप नेपाल अध्ययनकी बेलायत निर्देशक जुली मिटनले स्थानीय, प्रदेश र संघीय सरकारको सक्रियताबाट मात्रै सबै सडक प्रयोगकर्ताका लागि सडक सुरक्षित बनाउन सकिने बताइन्। स्थानीय तहका अधिकारीलाई समुदायमा परिवर्तन ल्याउन सहयोगी व्यावहारिक मार्गदर्शन उपलब्ध गराउन पाउँदा खुसी लागेको उनले सन्देशमार्फत उल्लेख गरेकी छन्।
परियोजनाका समुदाय सहभागिता तथा संलग्नता प्रमुख डा. पुष्पराज पन्तले स्थानीय जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य संयोजक, विपद् व्यवस्थापन समिति संयोजक तथा सामुदायिक सडक सुरक्षा मञ्चका सदस्यहरूको योगदानको प्रशंसा गरे। उनले परियोजना सफल बनाउन सहयोग गर्ने एसएसटीएनका सहकर्मी, सामुदायिक सडक सुरक्षा परिचालक र सम्पूर्ण टोलीलाई धन्यवाद दिए।
कार्यक्रममा बेलकोटगढी नगरपालिकाको सामुदायिक सडक सुरक्षा मञ्चकी सदस्य सुप्रिया नेपालले परियोजनामा निरन्तर सहभागी हुँदा सडक सुरक्षासम्बन्धी काममा योगदान दिन सक्ने आत्मविश्वास बढेको अनुभव सुनाइन्।
रत्ननगर नगरपालिकाका मञ्च सदस्य बसन्त रानाले स्थानीय क्लब, नगरपालिका र उद्योग वाणिज्य संघसँगको सहकार्यमा सडक सुरक्षा सचेतना कार्यक्रम, विद्यालय यातायात सुरक्षा पहल तथा जोखिमयुक्त मोडमा कन्भेक्स ऐना जडानजस्ता काम भइरहेको जानकारी दिए।
त्यस्तै, कालिका नगरपालिकाका मञ्च अध्यक्ष रवि अधिकारीले दुर्घटनाको जोखिम भएका क्षेत्र पहिचान गरी बजारका चोकमा ट्राफिक संकेत र ड्रम राखिएको बताए। उनका अनुसार नगरपालिकाले चालु वर्ष सबै वडामा सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गर्न तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
भीमफेदी गाउँपालिकाका मञ्च सदस्य रामहरि ठकुरीले सडक दुर्घटनाबाट हुने मृत्यु न्यूनीकरण गर्न स्थानीय सडक सुरक्षा कार्यविधि स्वीकृत गर्नुपर्नेमा जोड दिए। गल्छी गाउँपालिकाकी मञ्च सचिव राधिका अधिकारीले कार्यविधि स्वीकृत गराउन नसकिए पनि परियोजनाबाट प्राप्त अनुभव र सहकार्यलाई भविष्यका सडक सुरक्षा कार्यक्रम निर्माणमा उपयोग गर्ने बताइन्।

प्रतिक्रिया