म्याग्दी । बाढीले बगाएको सडक, पहिरोले भत्किएका, पुरिएका, बस्नै नमिल्ने भएका घर, ढलेका विद्युत्का पोल, लत्रिएका तार र बाढीले थुपारेको गेगर । कतै विस्थापित परिवारको पीडा त कतै उजाडिएका बस्ती । असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछिको म्याग्दीको दृश्य केही दिनअघिसम्म यस्तै थियो ।
तर अहिले जिल्लाको दृश्य विस्तारै फेरिँदै गएको छ । विपद्ले थलिएको जनजीवनलाई सामान्य अवस्थामा फर्काउन सरकारी निकायसँगै स्थानीय बासिन्दा, युवा, सामाजिक संस्था, राजनीतिक दल र व्यवसायीहरू आ–आफ्नो ठाउँबाट जुटेका छन् । कोही सडक खुलाउन श्रम गरिरहेका छन्, कोही विद्युत्का पोल गाडिरहेका छन् । कसैले बजारका घरमा थुप्रिएको हिलो पन्छाइरहेका छन् भने कसैले बाढीले क्षति पुर्याएको तातोपानी कुण्ड सफा गरिरहेका छन् । विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापनामा म्याग्दीमा देखिएको जनसहभागिता अहिले जिल्लाको पुन:उत्थानको मुख्य आधार बनेको छ ।
सडक खुलाउन काँधमा इन्धन
चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक बाढी र पहिरोका कारण ठाउँठाउँमा क्षतिग्रस्त भयो । सडक मर्मतका लागि आवश्यक उपकरण पुगे पनि इन्धन अभाव चुनौती बन्यो । समस्या समाधानका लागि शनिबार ४५ जना सुरक्षाकर्मी, राजनीतिक दलका कार्यकर्ता तथा सामाजिक संघसंस्थाका स्वयंसेवकको टोलीले राहुघाट खोलादेखि बैसरीसम्म ७२० लिटर डिजेल बोकेर पुर्यायो ।
अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १८० मेगावाट क्षमताको कालीगण्डकी ‘गर्ज’ जलविद्युत् आयोजनाले सडक मर्मतका लागि दुई हजार ५०० लिटर डिजेल सापटी दिएको छ । “सडक सञ्चालनका लागि इन्धन अभाव भएपछि सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गर्नुका साथै जलविद्युत् आयोजनासँग सापटी मागेका हौँ”, बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले भने ।
यसअघि बेनीका युवा प्रकाश पौडेलको नेतृत्वमा युवाहरुले राहुपारे–कुनौटा खण्डमा श्रमदान गरेर पैदलयात्राका लागि भर्याङ राख्ने र डोरी तान्ने काम गरेका थिए ।
पोल गाड्दै र तार तान्दै युवा
बाढीपहिरोले पोल ढालेपछि म्याग्दी जिल्लाभर अवरुद्ध बनेको विद्युत् सुविधा अझै सञ्चालन हुन सकेको छैन । सदरमुकाम बेनी बाहिरका बस्तीमा युवा क्लबका पदाधिकारी तथा सदस्य र युवाहरू विद्युत् लाइन मर्मतमा जुटेका छन् । स्थानीयले ढलेका पोल गाड्ने र लत्रिएका तार तान्ने काममा सहयोग गरेपछि शनिबार बरंजा र ताकममा एक सातापछि केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति सञ्चालन भएको छ ।
“समुदायले श्रमदान गरेर सहयोग गरेकाले विद्युत् आपूर्ति सञ्चालनलाई तीव्रता दिन सहज भएको छ”, नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले भने ।
बजारको पहिरो पन्छाउँदै
बेनी नगरपालिका–८ न्युरोडमा बुधबार खसेको पहिरोले १५ घरमा क्षति पुर्यायो । तीमध्ये १० घरमा बस्नै नमिल्ने गरी हिलो थुप्रियो । न्युरोड र गणेशटोल क्षेत्रका करिब एक सय घर जोखिममा परे । घर छाडेर सुरक्षित स्थानमा पुगेका स्थानीयका लागि आफ्नै टोल सफा गर्नु बाध्यतामात्र होइन, सामूहिक जिम्मेवारी पनि बन्यो । शनिबारदेखि स्थानीय बासिन्दा, जनप्रतिनिधि, राजनीतिकर्मी, युवा क्लब, आमा समूह, टोल विकास संस्था, लायन्स क्लब र बजारवासी श्रमदानमा जुटेका छन् । आइतबार पनि श्रमदानमार्फत बाँस र काठ हटाए पनि ब्याकुहोलोडर र ट्याक्टर परिचालन गरेर पहिरो पन्छाउने तथा पानीको सुरक्षित निकास व्यवस्थापन गर्ने तयारी गरिएको छ ।
“पहिला बाँस र काठ हटाउन बजारवासीले श्रमदान गरेका छन् । त्यसपछि मेसिन परिचालन गरेर पहिरो पन्छाउने काम हुन्छ”, बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले भने ।
तातोपानी कुण्डमा दसैँअघि नै पानी भर्ने चाहना
बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पनि बाढीको चपेटामा पर्यो । म्याग्दी नदीको बाढी कुण्डभित्र पसेपछि गेगर, माटो र बालुवा थुप्रियो । कुण्डलाई दसैँअघि नै सञ्चालनमा ल्याउने उद्देश्यले स्थानीयले बुधबारदेखि सरसफाइ अभियान सुरु गरेका छन् । सिङ्गाका विभिन्न टोलले आलोपालो गरेर श्रमदान गरिरहेका छन् ।
शनिबारमात्रै साविक सिङ्गा गाविस–७ का ३४ जना, तल्लो सिङ्गाका २८ जना, सुर्केमेला–बास्कुना–थामडाँडाका ६४ जना, छाप युवा क्लबका छ जना र तातोपानी युवा क्लबका ३५ जना सरसफाइमा सहभागी भए । कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार स्थानीयको निरन्तर श्रमदानले बाढीले थुपारेको गेगर हटाउने काम अघि बढेको छ ।
दुःखमा साथ, पुनर्निर्माणमा हात
विपद्पछि म्याग्दीमा स्थानीयस्तरको मात्र होइन, बाहिर रहेका म्याग्देली र गैरआवासीय नेपालीको सहयोग पनि जुटेको छ । प्रवासी म्याग्देलीहरूको संस्था प्रवासी नेपाली म्याग्देली सङ्घ ९मोना०ले रु १५ लाख तथा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले रु ११ लाखबराबरको राहत सामग्री सहयोग गरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार उद्धार र राहतसँगै सडक, सञ्चार तथा विद्युत् सेवा सञ्चालनमा जनप्रतिनिधि, सामाजिक संघसंस्था र समुदायको सक्रियताले विपद्को कठिन अवस्थालाई छिटो पार गर्न सहयोग पुगेको छ ।
“सडक सञ्चालनदेखि विद्युत्का पोल गाड्ने, तार तान्ने, तातोपानी कुण्ड र बजारका घरमा थुप्रिएको हिलो पन्छाउने तथा गाउँका पदमार्ग मर्मत गर्न समुदायले श्रमदान गरिरहेको छ”, उनले भने, “जनसहभागिता र जनपरिचालनले असहज बनेको म्याग्दीको जनजीवन विस्तारै लयमा फर्कन थालेको छ ।”
क्षतिको अवस्था
पहिरोमा परि अन्नपूर्णमा पाँच र मालिका गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा एक–एक जना बेपत्ता भएका छन् । बाढीपहिरोबाट म्याग्दीमा हालसम्म १११ घर पूर्ण र ९३ घरमा आंशिक क्षति पुगेको छ । तीन सय ४२ घर जोखिममा रहेको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए।
ग्रामीण क्षेत्रमा सञ्चार र विद्युत् सेवा सञ्चालन हुन थालेपछि क्षतिको विवरण संकलन भइरहेको छ । त्यसैले क्षतिको तथ्याङ्ब अझै बढ्न सक्ने प्रशासनको भनाइ छ । जलविद्युत् आयोजना, प्रसारण लाइन, नदी नियन्त्रण, खानेपानी, सडक पूर्वाधार, विद्यालय भवन, कृषि, पशुपन्छी क्षेत्रमा भएको क्षतिको विवरण पनि संकलनकै क्रममा छन् ।
अन्नपूर्ण गाउँपालिका–५ पाउद्धार, गिवाङ, घिरवाङ र किन्दुकाका ११५ जनालाई हेलिकप्टरबाट उद्धार गरी शिख र घारमा राखिएको छ । अन्नपूर्ण–८ महभिरको बस्तीको पाखो चिराचिरा परेपछि त्यहाँका बासिन्दालाई पनि सुरक्षित स्थानमा सारिएको छ ।
गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीका शब्दमा, विपद्ले दुःख दिए पनि संकटमा एकजुट हुने र दुःखमा साथ दिने म्याग्दीको पुरानै अभ्यास हो । “एकता, सहयोग र श्रमको भावनाले म्याग्दीको जनजीवनलाई सामान्य अवस्थामा फर्काउन ठूलो भूमिका खेलेको छ”, उनले भने, “संकटमा एकजुट हुने, दुःखमा साथ दिने र हातेमालो गर्दै पुनर्निर्माणमा जुट्ने म्याग्दीको पुरानै असल अभ्यास हो ।”
विपद्को पानी घटिसकेको छ, तर क्षतिको घाउ अझै बाँकी छ । ती घाउ पुर्न समय लाग्नेछ । अहिले भने म्याग्दीले एउटा सन्देश दिइरहेको छ– विपद्ले भत्काएको संरचना मेसिनले बनाउला, तर त्यसमा जीवनको रङ भर्न समुदायको हात चाहिन्छ ।
फर्सेका बाढी प्रभावितलाई पाँच लाख सहयोग
यसैबीच म्याग्दी सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८ फर्सेका बाढी प्रभावितका लागि पोखरा महानगरपालिका–१९ लामाचौरमा रहेको अनुग्रह सत्सङ्ग नेपालले रु पाँच लाख २७ हजार सहयोग गरेको छ ।
जलजला गाउँपालिका–७ खनियाघाटकी गौमती थापाको पहलमा पोखरेली सत्सङ्गद्वारा सहयोग गरिएको हो । संस्थाका अध्यक्ष देवी गुरुङ, उपाध्यक्ष ज्ञानु लामा र कोषाध्यक्ष सञ्जय लामाको टोलीले शनिबार फर्सेमा आएर जलजला गाउँपालिका–८ का वडाध्यक्ष हरिविकास जिसीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
प्राप्त भएको सहयोग रकम फर्सेका बाढी प्रभावितको पुनर्स्थापना परिचालन गरिने वडाध्यक्ष जिसीले बताए। यही असोज ८ देखि ११ गतेसम्म परेको निरन्तरको वर्षापछि कालीगण्डकीमा आएको बाढीले फर्सेका करिब एक सय परिवारलाई प्रभावित बनाएको छ ।
जलजला गाउँपालिकाका अनुसार ७५ घर बगेर पूर्ण रूपमा क्षति भएका छन्, २७ घर जोखिममा छन् । बाढीबाट विस्थापित ७५ परिवारका १२९ महिला, १४४ पुरुष र पाँच वर्षमुनिका आठ बालबालिका प्रभावित भएका छन् ।
घरबारविहीन परिवारमध्ये अन्यत्र घर नभएका र आफन्तकहाँ आश्रय लिन नसक्नेलाई सुरक्षा निकायको सहयोगमा अस्थायी शिविरमा राखिएको छ । फर्सेको पुरानो बस्ती बगरमा परिणत भएर उजाडिएको छ ।

प्रतिक्रिया