नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग


काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख ४१ हजार १४१ सहयोग गरेको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई सङ्घका महासचिव भरतबहादुर चन्दले उक्त रकमको ‘चेक’ तथा ‘भउचर’ बुधबार हस्तान्तरण गरेका छन् ।

गैरनाफामुखी सो सामाजिक संस्थाको सञ्जालभित्रका अस्पताल, आँखा उपचार केन्द्र तथा जिल्ला शाखालगायत संस्थागत स्रोतबाट ९९ लाख ७४ हजार ५०६ र कर्मचारी तथा स्वयंसेवकबाट ४१ लाख ६६ हजार ६३५ सङ्कलन गरिएको थियो ।

यही भदौ १० गते भोटेकोसीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा मानवीय तथा भौतिक क्षति भएको थियो । बाढी प्रभावित नागरिकको दैनिक जीवन, स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर परेको परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारद्वारा आह्वान गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने निर्णयअनुसार उक्त रकम सङ्कलन गरिएको सङ्घले जनाएको छ ।