लमजुङ । बिहानसम्म परिवारसँग फोनमा कुराकानी भइरहेको थियो । घरपरिवारले पनि सबै जना काममै छन् भन्ने ठानेको थियो । तर यही १० भदौको बिहान करिब ८ः३० बजेपछि आएको एउटा खबरले बेँसीसहर नगरपालिका–११ का घर्ती परिवारलाई गहिरो पीडामा धकेल्यो, ‘रसुवामा बाढी आएको छ, आयोजनामा कार्यरत राधिका र झपटबहादुरको सम्पर्क टुटेको छ ।’
४३ वर्षीया राधिका घर्ती र ४५ वर्षीय झपटबहादुर घर्ती दम्पती हुन् । उनीहरु रसुवास्थित त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा करिब १०–१२ वर्षदेखि कार्यरत थिए । राधिका खाना पकाउने काम गर्थिन् भने झपटबहादुर सुरुङसम्बन्धी काममा खटिन्थे । बाढी आएको दिन बिहानसम्म सबै सामान्य नै थियो । परिवारसँग करिब ८ः३० बजेसम्म सम्पर्क भएको थियो । त्यसपछि भने फोन लागेन । झपटबहादुरको मोबाइलको ‘लोकेसन’ पनि बिहान करिब ८ः५६ बजेसम्म देखिएको थियो । त्यसपछि लोकेसनसमेत देखिन छाड्यो ।
‘उहाँहरू कहाँ हुनुहुन्छ भन्ने नै थाहा हुन सकेन । सुरुङ वा पावरहाउस आसपास हुनसक्ने हाम्रो अनुमान छ,’ भतिज विशाल घर्तीले भने । बाढीपछि नेपाली सेनाले सुरुङमा एक पटक खोजी गरेको थियो । तर सुरुङभित्रको कठिन अवस्थाका कारण पूर्ण रूपमा खोजी गर्न नसकिएको घर्तीको परिवारले जनाएको छ । त्यसपछि परिवारका लागि हरेक दिन प्रतीक्षाको दिन बनेको छ । घर्ती परिवार कतैबाट फोन आउँछ कि, खोजीका क्रममा कुनै खबर भेटिन्छ कि भन्ने आशामा ।
राधिका र झपटबहादुरका दुई छोरा र एक छोरी छन् । जेठो छोरा आमाबुबाको खोजीमा संलग्न छन् । कान्छो छोरा जापानमा छन् भने छोरीको विवाह भइसकेको छ । परिवारका सदस्यहरूका लागि भने अहिले सबैभन्दा ठूलो प्रश्न एउटै छ – उनीहरु कहाँ छन् ? ‘अब त न सासको खबर छ, न लासको । जिउँदै भेटिने आस पनि लगभग मरिसकेको छ । तर पनि उहाँहरूको अवस्था थाहा पाउन र कम्तीमा शवसम्म भए पनि फेला पार्न पाए हुन्थ्यो,’ विशालले भने ।
आफन्तका अनुसार राधिका र झपटबहादुर लामो समयदेखि आयोजनामै काम गर्दै आएका थिए । रोजगारीकै क्रममा रसुवा पुगेका उनीहरू वर्षौँदेखि त्यहीँ कार्यरत थिए । घरपरिवारबाट टाढा रहेर काम गर्दै आएका उनीहरू एकैपटक सम्पर्कविहीन भएपछि परिवारमा बज्रपात भएको छ ।
रसुवामा आएको बाढीपछि राधिका र झपटबहादुरमात्र होइन, लमजुङका अन्य व्यक्तिसमेत सम्पर्कविहीन छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार रसुवाको बाढीपछि जिल्लाका १० जना सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार सम्पर्कविहीन व्यक्तिको खोजी तथा उनीहरूको अवस्था’ जानकारी लिने काम भइरहेको छ ।
बाढी आएको दिनदेखि नै ती परिवारको ध्यान फोनतिर छ । अपरिचित नम्बरबाट फोन आउँदा पनि हराएका आफन्तको खबर पो आयो कि भन्ने आशा जाग्छ । तर फोन अरू कसैको हुन्छ । फेरि उस्तै निराशा । समय बित्दै जाँदा आफन्त जीवितै भेटिने आशा कमजोर बन्दै गएको छ । तर आशा पूर्ण रूपमा मरेको छैन । त्यसैले परिवारहरू अझै खोजी टोलीबाट आउने एउटा खबरको प्रतीक्षामा छन् । राधिका र झपटबहादुरको परिवारका लागि पनि अहिले त्यही प्रतीक्षा बाँकी छ– आफन्त जीवितै भेटिन्छन् कि भन्ने अन्तिम आशा, नभए कम्तीमा उनीहरूको अवस्था’ सत्य जानकारी ।
रसुवाको बाढीले भौतिक क्षतिमात्र गरेको छैन, लमजुङका यी परिवारलाई आफ्ना आफन्तको अवस्था’ अनिश्चित प्रतीक्षामा समेत छाडेको छ । दिनहरू बितिरहेका छन्, आशा कमजोर हुँदै गएको छ, तर परिवारका सदस्यहरू अझै आफ्ना प्रियजनको खबर आउने आशाको त्यान्द्रो समातेर बसिरहेका छन् ।

प्रतिक्रिया