विपद्को समयमा सरकार उद्धार र जनपरिचालनमा असफल भयोः प्रचण्ड


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकार विपद्को समयमा उद्धार र जनपरिचालनमा असफल भएको आरोप लगाएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकलार्ई सम्बोधन गर्दै प्रचण्डले सेना परिचालन गरेर मात्रै समाधान नहुने भन्दै जनपरिचालन हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘सरकार सुरुको दिनको तदारुकता र पछिल्लो दिनको उसको कार्यशैली, काम गराइमा फरक देखियो। सरकार उद्धार कार्यमा असफल भयो भन्ने सबैभन्दा बढी जनगुनासो सुनिएको छ। लुकाएर, ढाँटेर हुँदैन। सरकार उद्धार र जनपरिचालनमा असफल भयो ।’

उनले सोसल मिडियामा पोस्ट गरेर संकटको समाधान नहुने बताए । उनले भने, सोसल मिडियामा पोस्ट गरेर तपाईंहरूले चुनाव त जित्नुभो, अहिलेको संकट समाधान हुँदैन ।’

उनले बाढी आएको दिन प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियता देखेपछि सरकारबाट राम्रो पहल हुने विश्वास आफूले गरेको भएपनि पछिल्ला दिनमा सरकारको कामकारबाहीमा सुस्तता देखिएको बताए ।

उनले भने, ‘यो संकटको घडीमा सरकारको साथमा थियौं, छौं पनि। मैले बाढी आएको दिनको प्रधानमन्त्री, गृहमन्त्रीको सक्रियता हेरेको थिएँ। त्यो देखेपछि उहाँहरू निकै सक्रिय हुनुहुन्छ, राम्रो पहल हुन्छ भन्ने विश्वास छ भनेको थिएँ।’

प्रचण्डले नेपाली सेनाले जोखिम मोलेर उद्धार तथा राहतमा महत्वपूर्ण भूमिका खेले पनि विपद्को सामना गर्न सबै तहका सरकार र आम नागरिकलाई विश्वासमा लिएर व्यापक परिचालन गर्न नसकिएको बताए।

प्रचण्डले राजनीतिक दल र नेताहरूले एकअर्काले गरेको राम्रो कामलाई राम्रो भन्न सक्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘हामी राजनीतिज्ञहरू सामान्यतः अरूले गरेको राम्रो कामलाई राम्रो भन्न सक्ने आँट, हैसियत र संस्कार हाम्रो हराउँदै गएको छ। आफूले गरेको नराम्रो पनि राम्रै हो भनेर प्रचार गर्ने तिर्खा अलि बढी लाग्ने गरेको छ।’

भोटेकोसीमा आएको विपत्तिले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिमलाई थप पुष्टि गरेको उनको भनाइ छ। उनले अन्तर्राष्ट्रिय मञ्चमा ‘क्लाइमेट जस्टिस’को विषय उठाउँदै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने बताए।
प्रधानमन्त्री प्रतिनिधिसभामा आएर सांसदहरूसँग संवाद नगरी फर्किएकोप्रति पनि उनले असन्तुष्टि जनाए ।

उनले भने, ‘प्रधानमन्त्री आउनुहुन्छ, सदनमा कसैको अनुहार पनि नहेरी जानुहुन्छ। यो के तरिका हो ? यस्तो त हुँदैन । प्रधानमन्त्री त हामी सबैको प्रधानमन्त्री हो नि। तपाईंलाई सहयोग गर्छौं सबैले भनेका छौं, तर पनि कसैको अनुहार नै नहेर्ने के तरिका हो? सबैको विश्वास जित्न खोज्नुभएन भने समयले पनि उहाँलाई नपर्खिन सक्छ ।’