लन्डन । इरानसँग सम्बन्धित ह्याकरहरूले बेलायतको एउटा विद्युत् केन्द्र चार दिनसम्म सञ्चालन बन्द गराएको दाबी गरिएको छ। यो बेलायतको महत्वपूर्ण पूर्वाधारमाथि इरानी समूहले गरेको अहिलेसम्मकै गम्भीर साइबर हमलामध्ये एक हुन सक्ने भन्दै बेलायती सञ्चारमाध्यम द टेलिग्राफले समाचार छापेको छ।
साइबर आक्रमणपछि प्रभावित विद्युत् केन्द्र चार दिनसम्म बन्द रहेको थियो। कर्मचारीहरूले प्रणाली पुनः सञ्चालनमा ल्याउन काम गरेका थिए। गएको महिना इरानी ह्याकरहरूले अमेरिकाका जल पूर्वाधारमा शृङ्खलाबद्ध आक्रमण गरेको समयमा यो घटना भएको द टेलिग्राफको बुझाइ छ। यी आक्रमणमा १२ अमेरिकी राज्यका पूर्वाधार प्रभावित बनेका थिए। यी घटनाले ह्वाइट हाउससमेत चिन्तित भएको थियो।
सुरक्षा संवेदनशीलतालाई औँल्याउँदै बेलायती अधिकारीहरूले साइबर हमलामा कुन विद्युत् केन्द्र प्रभावित भएको हो भन्ने खुलाएका छैनन्। यद्यपि, प्रभावित केन्द्र तुलनात्मक रूपमा सानो रहेको र यो बन्द हुँदा बेलायतको समग्र विद्युत् आपूर्ति वा ऊर्जा उत्पादनमा कुनै ठूलो असर नपरेको बताइएको छ।
घटनाबारे बेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्र (एनसीएससी)लाई जानकारी गराइएको छ। एनसीएससी बेलायती गुप्तचर संस्था जीसीएचक्यूअन्तर्गतको निकाय हो, जसले देशका महत्वपूर्ण पूर्वाधारलाई साइबर खतराबाट सुरक्षित राख्न सरकारी तथा निजी संस्थालाई सुरक्षा सल्लाह दिँदै आएको छ।
घटनापछि बेलायती सरकारले विद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकारीहरूलाई सुरक्षा अवस्थाबारे जानकारी गराएको थियो। साथै, व्यवसायहरूलाई साइबर सुरक्षासम्बन्धी आवश्यक सावधानी अपनाउन निर्देशनसहितको सूचना पठाइएको बताइएको छ।
बेलायतमा यसअघि रुस, चीन, इरान र उत्तर कोरियासँग सम्बन्धित साइबर समूहबाट सरकारी तथा महत्वपूर्ण पूर्वाधारमा विभिन्न किसिमका आक्रमण हुँदै आएको चेतावनी दिइँदै आएको थियो।
अस्पतालका प्रणाली, विद्यालय तथा विभिन्न औद्योगिक प्रतिष्ठानका कम्प्युटर प्रणालीमा साइबर आक्रमणका घटना यसअघि पनि सार्वजनिक भएका छन्। तर कुनै विदेशी ह्याकर समूहले बेलायतको विद्युत् केन्द्रलाई नै सञ्चालन गर्न नसक्ने अवस्थामा पुर्याएको घटना भने यसअघि सार्वजनिक रूपमा देखिएको थिएन।
यद्यपि, यसपटकको आक्रमणबाट सर्वसाधारणको विद्युत् आपूर्तिमा व्यापक असर पार्ने उद्देश्य रहेको सम्भावना कम रहेको बताइएको छ। अनुसन्धानसँग सम्बन्धित स्रोतहरूले यो आक्रमण बेलायतको संवेदनशील पूर्वाधारमा पहुँच बनाउन सकिन्छ कि सकिँदैन भन्ने क्षमता प्रदर्शन गर्नका लागि गरिएको हुन सक्ने अनुमान गरेका छन्।
गत महिना अमेरिकाका विभिन्न राज्यका खानेपानी तथा फोहोर पानी प्रशोधन केन्द्रमा साइबर हमला भएको थियो। ती आक्रमणका कारण केही स्थानमा पानीको दबाब घटेको र कतिपय क्षेत्रमा बाढीसमेत आएको बताइएको थियो। केही स्थानीय प्रशासनले सर्वसाधारणलाई पानी उमालेर मात्र पिउन सुझाव दिएका थिए।
अमेरिकाको मिनेसोटामा जुलाई २६ मा पहिलो घटना सार्वजनिक भएपछि मिशिगन, जर्जिया, साउथ डकोटा र न्यु जर्सीलगायत राज्यमा पनि यस्तै साइबर सुरक्षा उल्लङ्घनका घटना देखिएका थिए। अमेरिकी अनुसन्धान निकाय एफबीआईले ती घटनामा संलग्नलाई ‘दुर्भावनापूर्ण साइबर समूह’ भनेको थियो। पछि अमेरिकी सरकारी स्रोतहरूले ती आक्रमण इरानबाट उत्पन्न भएको हुन सक्ने बताएका थिए।

प्रतिक्रिया