धनकुटामा ब्रेक फेलपछि ट्रकमा आगलागी, चालकको जलेर मृत्यु


धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक फेल भएर दुर्घटना हुँदा ट्रकमा आगलागी भई चालकको जलेर मृत्यु भएको छ।

विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्र १–०२–००१ क ५३६३ नम्बरको ट्रक ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएपछि अचानक आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीमा परी भोजपुरका ३० वर्षीय चालक विशाल राई ट्रकबाट बाहिर निस्किन सफल भए पनि गम्भीर रूपमा जलेका कारण घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा ट्रकका सहचालक तेह्रथुमको म्याङ्लुङ नगरपालिका–९ निवासी १८ वर्षीय सञ्जीव सङ्गौला भने सकुशल रहेका छन्।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट फलामेटार र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।