हिंसात्मक झडपमा एक जनाको मृत्यु भएपछि सुनसरीको देवानगञ्ज र हरिनगरमा कर्फ्यु


सुनसरी । हिंसात्मक झडपमा एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

आज बिहान ७ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लगाइएको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशअनुसार हरिनगर, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रका तोकिएका चार किल्लाभित्र कुनै पनि व्यक्तिले आवतजावत गर्न, भेला हुन, जुलुस–प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।

प्रशासनका अनुसार हरिनगर बजार क्षेत्रको जुनिया टोलदेखि बसन्तपुर मोडसम्म, भुटाहा बजारको मोरिया धार खोलादेखि सुनसरी खोलासम्म, कप्तानगञ्ज बजारको यादव टोलदेखि नेपाल–भारत सीमा क्षेत्रसम्म, घुस्की बजारको कासिमिया मदरसादेखि हिमालय पब्लिक स्कुलसम्म र देवानगञ्ज बजारको मुसहर टोलदेखि गाउँपालिका कार्यालयसम्मको सीमाभित्र कर्फ्यु  लागू गरिएको छ ।

आइतबार राति दुई समूहबीच विवाद हुँदा प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर ८ जना प्रदर्शनकारी घाइते भएका छन् । त्यस्तै सुरक्षाकर्मीतर्फ पनि घाइते भएका छन् ।