यसरी बाहिरिएको थियो एमबीएस परीक्षाको प्रश्नपत्र, एकजना पक्राउ


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर (एमबिएस) प्रथम सेमेस्टरको परीक्षा सुरु भएको छ मिनेटमै ह्वाट्सएप ग्रुपबाट प्रश्नपत्र बाहिरियो । हजारभन्दा बढी सदस्य रहेको…MBS !st Sem Section CÚ’ नामको ह्वाट्सएप ग्रुपमा प्रश्नपत्रको PD मात्र पोष्ट भएन, ‘सर सोलुसन पनि पठाइदिनु न’ भन्दै उत्तरको मोलमोलाइ र लेनदेनसमेत सुरु भयो ।

परीक्षाको मर्यादा, शैक्षिक विश्वसनीयता र हजारौँ होनहार विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने यो घटना बाहिरिनेबित्तिकै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यसलाई सामान्य ढिलासुस्तीमा छाडेनन् । घटना सार्वजनिक हुनासाथ उहाँको ‘र्यापिड एक्सन’ (तत्काल कदम)कै कारण २४ घण्टा नबित्दै घटनामा संलग्न मुख्य आरोपितहरूलाई प्रहरीले नियन्त्रणमा लियो ।

यही साउन ८ गते परीक्षा सुरु भएको केही मिनेटभित्रै ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र छ्यापछ्याप्ती भयो । ग्रुपमा ‘सुलब सर’ नाम गरेका व्यक्तिले प्रश्नपत्र पठाउँदै ‘इको (अर्थशास्त्र) को पनि दिन्छु, राम्रोसँग हेर्नुहोला’ भन्दै विद्यार्थीलाई विश्वस्त पारिरहेका थिए । परीक्षा चलिरहेकै समयमा मोबाइलको प्रयोग र प्रविधिको दुरुपयोग गरी सङ्गठित रूपमा प्रश्नपत्र ‘लिक’ गराउने गिरोह सक्रिय रहेको पुष्टि भएपछि चौतर्फी आक्रोश उत्पन्न भयो ।
प्रविधिको प्रयोग गरेर गराइएको यो अपराधलाई कारबाहीको दायरामा ल्याउन शिक्षामन्त्री पोखरेलले तत्कालै प्रहरी नेतृत्वसँग समन्वय गरे । उनले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई फोन गरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र साइबर ब्युरोलाई २४सै घण्टा परिचालन गर्न निर्देशन दिए ।

मन्त्री पोखरेलको निर्देशन र ‘जिरो टोलरेन्स’ नीतिका कारण प्रहरीको प्राविधिक टोलीले डिजिटल फुटप्रिन्ट र ह्वाट्सएप ग्रुपको सूक्ष्म विश्लेषण गर्यो । नतिजास्वरुप २४ घण्टाभित्रै प्रश्नपत्र लिक गराउने मुख्य सूत्रधार भनिएका ‘सुलब सर’सहित स्क्रिनसटमा नाम देखिएका अर्का एक जनालाई प्रहरीले पक्राउ गर्न सफल भयो ।

शिक्षामन्त्री पोखरेल भन्छन्, ‘शैक्षिक अपराधमा कसैलाई छुट छैन’

घटनापछि मन्त्री पोखरेलले विश्वविद्यालय र शैक्षिक प्रणालीलाई स्वच्छ बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याए । उनले त्रिविको परीक्षा प्रणालीमा देखिएको यो विकृतिविरुद्ध कडा कदम चाल्ने स्पष्ट पारे ।

मन्त्री पोखरेलले परीक्षा सञ्चालन र प्रश्नपत्रको सुरक्षामा लापरबाही गर्ने विश्वविद्यालयका आन्तरिक संयन्त्रमाथि पनि छानबिन गरिने र दोषी पाइए जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइने बताए ।