काठमाडौँ । तामाबाट निर्मित फुकेर बजाइने परम्परागत नेपाली लोकबाजाहरूको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण गर्ने उद्देश्यले आयोजित विशेष प्रदर्शनी बुधबार सम्पन्न भएको छ।
ज्येष्ठ पूर्णिमा (ज्यापुन्हि) २०८३ को अवसरमा ललितपुर सृजनात्मक कला केन्द्र, ललितपुर महानगरपालिकाको सहकार्यमा पाटन संग्रहालय विकास समिति र नेपाली लोकबाजा संग्रहालयद्वारा संयुक्त रूपमा आयोजित प्रदर्शनीको समापन कार्यक्रम काठमाडौंको टेकुस्थित नेपाली लोकबाजा संग्रहालयमा सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता नेपाली लोकबाजा संग्रहालयका संस्थापक अध्यक्ष रामप्रसाद कँडेलले गरेका थिए भने प्रमुख अतिथिका रूपमा पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग तथा विशिष्ट अतिथिका रूपमा पाटन संग्रहालय विकास समितिका कार्यकारी निर्देशक रमेशराज पौडेलको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पाटन संग्रहालय विकास समितिका सदस्यहरू, पुरातत्त्व विभाग तथा पाटन संग्रहालयका कर्मचारीहरू, संस्कृतिप्रेमी, अनुसन्धानकर्ता र सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रामप्रसाद कँडेलले नेपाली लोकबाजा केवल सांगीतिक सामग्री नभई नेपालको सभ्यता, संस्कृति र मौलिक पहिचान बोकेको अमूल्य सम्पदा भएको उल्लेख गरे । उनले यस्ता बाजाको संरक्षण, दस्तावेजीकरण र नयाँ पुस्तामा हस्तान्तरण गर्न सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको धारणा राखे ।
प्रमुख अतिथि सौभाग्य प्रधानाङ्गले लोकबाजा नेपालको अमूर्त सांस्कृतिक सम्पदाको महत्वपूर्ण अंश भएको उल्लेख गर्दै यसको संरक्षण राज्यको दायित्व मात्र नभई सम्पूर्ण समाजको साझा जिम्मेवारी भएको बताइन् । उनले यस्ता सम्पदाको संरक्षण र अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न सरकारी तथा निजी क्षेत्रबीच सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिइन् ।
विशिष्ट अतिथि रमेशराज पौडेलले संग्रहालयहरू केवल पुराना वस्तु प्रदर्शन गर्ने स्थल नभई इतिहास, संस्कृति र पहिचानलाई जीवित राख्ने ज्ञान केन्द्र भएको उल्लेख गर्दै लोकबाजाको संरक्षणले नेपालको सांस्कृतिक पर्यटन प्रवद्र्धनका साथै विश्व समुदायमा नेपालको मौलिक परिचय स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरे।
आयोजकका अनुसार प्रदर्शनीले तामाबाट निर्मित फुकेर बजाइने परम्परागत नेपाली लोकबाजाको ऐतिहासिक, सांस्कृतिक तथा कलात्मक महत्वबारे नयाँ पुस्तालाई जानकारी गराउनुका साथै नेपालको अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र विश्वमञ्चमा नेपालको मौलिक सांस्कृतिक पहिचान प्रवद्र्धन गर्ने उद्देश्यलाई थप सशक्त बनाएको विश्वास लिइएको छ।

प्रतिक्रिया