त्रिवेणी । निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि होटल तथा पर्यटन व्यवसाय पुनः चलायमान हुनेमा यहाँका व्यवसायी आशावादी बनेका छन् ।
सडक निर्माणका क्रममा वर्षौँदेखि धुलो, हिलो, जाम र जोखिमपूर्ण यात्राका कारण यात्रु तथा पर्यटकले नवलपुर क्षेत्रमा रोकिएर खाना खाने, विश्राम गर्ने तथा घुमफिर गर्ने क्रम उल्लेख्य रूपमा घटेको थियो । यसले राजमार्ग लक्षित होटल, रेष्टुरेन्ट तथा पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको व्यवसायीहरू बताउँछन् । अहिले सडक कालोपत्र भइसकेपछि यात्रुहरूको आवागमन सहज बन्दै गएको र होटलहरूमा पुनः चहलपहल बढ्न थालेको उनीहरूले जनाएका छन् ।
नवलपुर होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष सन्तोष रानाका अनुसार सडक विस्तार सुरु भएपछि करिब पाँच–छ वर्षसम्म राजमार्ग आसपासका होटल व्यवसाय अत्यन्तै प्रभावित बने । धुलो र अव्यवस्थित सडकका कारण यात्रुहरू अप्ठ्यारो खण्ड पार गरेपछि मात्र खाना खाने वा विश्राम गर्ने मनस्थितिमा रहने भएकाले होटलहरूको व्यापार उल्लेख्य रूपमा घटेको उनले बताए ।
“सडक निर्माणका कारण लामो समयसम्म व्यापारमा मन्दी छायो । कतिपय व्यवसायीले होटल नै बन्द गर्नुपर्ने अवस्था आयो भने केही विस्थापितसमेत भए”, अध्यक्ष रानाले भने, “अब सडक विस्तारको काम करिब सकिएको छ । यात्रुहरू पुनः राजमार्ग आसपासका होटलमा रोकिन थालेका छन् । यसले होटल तथा पर्यटन व्यवसाय पुरानै लयमा फर्किने विश्वास बढाएको छ ।”
उनकाअनुसार गैँडाकोटदेखि दाउन्नेसम्मका अधिकांश होटल व्यवसाय सडक निर्माणका कारण सबैभन्दा बढी प्रभावित भएका थिए । अहिले भने सवारीसाधन नियमित रूपमा रोकिन थालेकाले व्यवसायमा सकारात्मक सङ्केत देखिन थालेको उनको भनाइ छ ।
दाउन्नेस्थित सुवेदी सेकुवा कर्नरका सञ्चालक विनोद शर्मा सुवेदीले पनि सडक निर्माणको अवधिमा होटल सञ्चालन गर्न निकै कठिन भएको अनुभव सुनाए । “धुलो र हिलोका कारण यात्रुहरू होटलमा रोकिनै चाहँदैनथे । होटलभित्रका सामग्रीसमेत धुलोले ढाकिन्थे । दैनिक व्यापार निकै घटेको थियो”, उनले भने,“अहिले सडक राम्रो बन्दै गएको छ । यात्रुहरूको आवागमन बढ्न थालेको छ । यसले व्यवसाय फेरि चलायमान हुने आशा जगाएको छ ।”
नवलपुर होटल व्यवसायी सङ्घका अनुसार जिल्लाभर करिब एक हजार १०० होटल तथा पर्यटनसम्बन्धी व्यवसाय सञ्चालनमा छन् । तीमध्ये धेरैजसो राजमार्ग निर्माणका कारण प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भएका थिए । अब सडक सहज बनेसँगै व्यवसायमा क्रमशः सुधार आउने विश्वास व्यवसायीहरूले गरेका छन् ।
नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोका अनुसार सडकको अवस्थाले जिल्लाको पर्यटन क्षेत्रमा ठूलो प्रभाव पारेको थियो । “पर्यटकका लागि गन्तव्य आकर्षक भए पनि सहज पहुँच नहुँदा आगन्तुकको सङ्ख्या घटेको थियो”, उनले भने, “अब सडक विस्तारको काम लगभग सम्पन्न भएको छ । यसको सकारात्मक प्रभाव पर्यटन क्षेत्रमा पनि देखिन थालेको छ ।”
उनका अनुसार अमलटारी, पिप्रहरलगायत वन्यजन्तु अवलोकनका प्रमुख गन्तव्यमा पछिल्लो समय पर्यटकको आगमन क्रमशः बढ्न थालेको छ । सडक सहज बनेपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या अझ वृद्धि हुने अपेक्षा गरिएको उनले बताए ।
नवलपुरको राजमार्ग क्षेत्रअन्तर्गत थुम्सी, दुम्किबास, दाउन्नेलगायतका स्थानहरू यात्रुका लागि प्रमुख विश्राम तथा खानाका केन्द्रका रूपमा परिचित छन् । सडक विस्तारका कारण लामो समय सुनसान बनेका यी क्षेत्रका होटलहरूमा अहिले फेरि यात्रु रोकिन थालेको व्यवसायीले बताएका छन् ।
नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत नवलपुर खण्डमा कालोपत्र र ढलानको काम सम्पन्न भइसकेको छ भने अहिले सडक सुरक्षा, लेन मार्किङ, साइनबोर्ड, रेलिङ तथा अन्य सहायक पूर्वाधार निर्माणका काम भइरहेका छन् ।
विगतमा धुलो, जाम र जोखिमपूर्ण यात्राका कारण आलोचित बनेको यो सडक अहिले क्रमशः सहज र सुरक्षित बन्दै गएको छ । सडक पूर्वाधारमा आएको सुधारसँगै होटल, पर्यटन, यातायात तथा स्थानीय व्यापार–व्यवसायमा नयाँ उत्साह थपिएको छ । व्यवसायीका अनुसार सहज सडकले पर्यटकको आगमन बढाउनुका साथै जिल्लाको समग्र आर्थिक गतिविधिलाई समेत चलायमान बनाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया