शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान


कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका हात्ती प्रभावित क्षेत्रमा स्वचालित बत्ती जडानको काम सुरु गरिएको छ ।

निकुञ्जबाट बस्तीमा प्रवेश गर्ने जङ्गली हात्तीका कारण हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) अन्तर्गत बत्ती जडान अभियान सुरु गरिएको हो ।

प्रदेशका पूर्वआर्थिक मामिलामन्त्री तथा प्रदेशसभा सदस्य बहादुरसिंह थापाले सोमबार स्वचालित बत्ती जडानका लागि आवश्यक सामग्री सम्बन्धित वडाध्यक्षलाई हस्तान्तरण गरे । ती सामग्री हस्तान्तरण गर्दै उनले मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरणका लागि पूर्वाधारमा गरिएको लगानी दीर्घकालीन रूपमा प्रभावकारी हुने बताए ।

शुक्लाफाँटा नगरपालिकाका वडा नं १, २, ३, ४, ५, ६, ७ र १२ मा गरी १०८ वटा स्वचालित बत्ती जडानको काम अगाडि बढाइएको छ ।