पाल्पा । पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथि निर्माणाधीन आधुनिक ‘सिग्नेचर ब्रिज’को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत निर्माण भइरहेको पुलको ९५ प्रतिशत काम सम्पन्न भएको छ।
पुल सेक्टर पोखराका आयोजना प्रमुख सिडिई कृष्णराज अधिकारीका अनुसार निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। विसं २०२८ मा निर्माण गरिएको ९३ मिटर लामो स्टिल ट्रस पुल जीर्ण बन्दै गएपछि त्यसको विकल्पका रूपमा हालको पुलभन्दा केही तल १२३ मिटर लामो आधुनिक ‘सिग्नेचर ब्रिज’ निर्माण गरिएको हो।
नयाँ पुल ११ मिटर चौडा हुनेछ भने पैदलयात्रीका लागि छुट्टै फुटपाथको व्यवस्था गरिएको छ। पुलले ४० टनसम्म भारवहन गर्न सक्ने क्षमता राख्नेछ। सडक विभागअन्तर्गत पुल महाशाखाले सर्वेक्षण गरी ‘सिएएफएसआरआई स्टिल ट्युब आर्क’ प्रविधिमा पुल निर्माण गरिरहेको हो।
विसं २०८२ असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७९ असार ३० गते हिम सगरमाथा कन्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो। करिब २७ करोड ७१ लाख नौ हजार रुपैयाँ लागतमा निर्माण भइरहेको पुलको प्रारम्भिक लम्बाइ १२० मिटर तय गरिए पनि पछि तीन मिटर थप गरी १२३ मिटर बनाइएको आयोजना प्रमुख अधिकारीले जानकारी दिए।
हाल सञ्चालनमा रहेको पुरानो पुलमा ठूला भारवहन क्षमताका सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुँदै आएको थियो, जसका कारण मालसामान ढुवानी प्रभावित हुने गरेको थियो। नयाँ पुल निर्माण अन्तिम चरणमा पुगेपछि ढुवानी व्यवसायी, उद्योगी, व्यापारी तथा उपभोक्तामा उत्साह थपिएको छ।
व्यापारिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने राम्दी क्षेत्रमा आधुनिक पुल सञ्चालनमा आएपछि दुई प्रदेशबीचको आवागमन थप सहज, सुरक्षित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया