बाँके । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा बाँकेका खेतका फाँट धुलाम्मे देखिएका छन् । जिल्लाका केही स्थानमा बीउ राखेको खेतको ब्याडमा धाजा फाटेको छ ।
असारमा पनि खेतका फाँट धुलाम्मे भएको देख्दा बाँकेको राप्तीसोनारी गाउँपालिका–७ फत्तेपुरका किसान धुमलिया थारूले विगत वर्षहरूमा यस्तो समस्या भोग्न नपरेको सुनाए ।
“वैकल्पिक सिँचाइ वा पानी लाग्ने अवस्था छैन, त्यसैले हामीलाई धेरै गाह्रो छ”, उनले भने । आफ्नो १० कट्ठामात्रै खेत रहेको उल्लेख गर्दै थारुले परिवार पाल्न करिब डेढ बिघा क्षेत्रफलमा धानखेती गर्दै आएको बताए । यसपटक पर्याप्त वर्षा नभए धानको उत्पादन घट्दा त्यसको प्रत्यक्ष असर उनको परिवारमा पर्ने निश्चित छ ।
बर्सेनि (बटैया) अधिया धानखेती गरेर करिब १० क्विन्टल धान उत्पादन हुने गरेको अनुभव सुनाउँदै थारुले भने, “जति सकिन्छ त्यति नै रोप्ने हो तर अहिलेसम्म वर्षा भएको छैन ।”
सिक्टा सिँचाइका सुविधा भएका स्थान र डिपबोरिङमार्फत हुने सिँचाइबाट बाँकेका केही स्थानीय तहमा रोपाइँ गरिएको छ । तर अधिकांश खेतका फाँट धुलाम्मे देखिएका छन् । खासगरी डुडुवा, नरैनापुर र राप्तीसोनारीका दक्षिणी भेगका खेत धुलाम्मे अवस्थामा छन् ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले वर्षा नभएका कारण आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै भदौको पहिलो सातासम्म रोपाइँ गर्न मिल्ने बताए । उनले अहिले पनि किसानका ब्याडमा रहेको बीउ ठूलो नभएकाले जिल्लाको उत्तरी भेगमा मात्रै केही मात्रामा रोपाइँ भएको जानकारी दिए ।
“अब केही दिनमा वर्षा सुरु हुँदैछ, त्यसबेला खेत बनाउन पनि समय लाग्छ, त्यसैले एक सातापछि बाँकेमा रोपाइँ सुरु होला”, प्रमुख घिमिरेले भने । गत वर्ष जिल्लामा कुल खेतीयोग्य जमिनमध्ये तीन हजार ८१८ हेक्टरमा रोपाइँ भएको थियो । रोपाइँ हुने क्षेत्रफल कुल ३४ हजार ७११ हेक्टर जमिनमध्ये गत वर्ष ११ प्रतिशतमात्रै रोपाइँ भएको थियो । तर अहिले असार १२ गतेसम्म जिल्लाका केही भेगबाहेक अधिकांश क्षेत्रमा रोपाइँ भएको छैन ।
कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार असार १२ गतेसम्म धान रोपाइँ हुने कुल ३३ हजार ७८० हेक्टर जमिनमध्ये १६८.९ हेक्टरमा रोपाइँ भएको छ । प्रतिशतका आधारमा यस रोपाइँलाई ०.५ प्रतिशतका रूपमा लिन सकिन्छ । ज्ञान केन्द्रका अनुसार कतिपय स्थानमा त किसानले वर्षा नहुँदा धानको ब्याड समेत राख्न पाएका छैनन् ।

प्रतिक्रिया