नेपाल एकीकरणका अदृश्य मार्गदर्शकः दैवज्ञ कुलानन्द ढकालको ऐतिहासिक भूमिका


नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको साहस, सैन्य कौशल र राजनीतिक दूरदृष्टिबारे धेरै चर्चा हुने गरेको छ । तर इतिहासका केही यस्ता पात्र पनि छन्, जसले पर्दापछाडिबाट राज्य विस्तार र राष्ट्र निर्माणको यात्रामा गहिरो प्रभाव पारे । त्यस्ता कम चर्चित तर प्रभावशाली व्यक्तित्वमध्ये एक हुन् दैवज्ञ कुलानन्द ढकाल । नेपाल ऋषि प्राज्ञ जगमान गुरुङले विभिन्न ऐतिहासिक प्रसंगहरू उदृत गर्दै कुलानन्द ढकाललाई नेपाल एकीकरण अभियानका आध्यात्मिक तथा ज्योतिषीय मार्गदर्शकमध्ये एक महत्त्वपूर्ण पात्रका रूपमा उल्लेख गरेका छन् ।

इतिहासअनुसार कुलानन्द ढकाल र भानु अर्याल तत्कालीन गोरखा दरबारका प्रसिद्ध दैवज्ञ तथा ज्योतिषी थिए । मकवानपुरबाट अपमान सहेर फर्किने क्रममा पृथ्वीनारायण शाह ले पहिलो पटक काठमाडौं उपत्यकाको हराभरा, समृद्ध र मनमोहक भूभाग देखेका थिए । उपत्यकाको वैभवले प्रभावित भएर उनले यहाँ शासन गर्ने आकांक्षा व्यक्त गरेको बताइन्छ । त्यही बेला साथमा रहेका दैवज्ञ भानु अर्याल र कुलानन्द ढकालले महाराजको इच्छालाई केवल कल्पना नभई सम्भावित नियतिको संकेतका रूपमा व्याख्या गरेका थिए । उनीहरूले राजाको मनोबल बढाउँदै भविष्यमा त्यो अभिलाषा पूरा हुने विश्वास दिलाएका थिए ।
नेपाल एकीकरणको इतिहासमाथि गहिरो अध्ययन गरेका लेखक Ludwig F. Stiller ले आफ्नो चर्चित पुस्तक The Rise of the House of Gorkha मा यस प्रसंगलाई ’The Dream of Unification’ अर्थात् ’एकीकरणको सपना’ भनेर उल्लेख गरेका छन् ।

इतिहासमा उल्लेख भएअनुसार नुवाकोट विजय अभियानअघि पनि दैवज्ञ कुलानन्द ढकालको भूमिका महत्त्वपूर्ण देखिन्छ । पूर्व अभियानका क्रममा पृथ्वीनारायण शाह सल्यानकोटकी माईको दर्शन गर्न पुगेका थिए । त्यहाँ उनले राति विशेष सपना देखेको उल्लेख पाइन्छ । त्यसपछि भानु अर्याल, कुलानन्द ढकाल र स्थानीय पूजारी राना मगरले त्यसलाई देवीको संकेतका रूपमा व्याख्या गरेका थिए । उनीहरूले अनुकूल साइत रहेको बताएपछि नुवाकोट अभियान अगाडि बढाइएको र अन्ततः विजय प्राप्त भएको वर्णन पाइन्छ ।

खिन्चेतमा सैन्य तयारीका क्रममा पनि अर्को रोचक प्रसंग उल्लेख गरिन्छ । भनिन्छ, एक दिन कचहरीमा बस्दा राजालाई तन्द्रा लाग्यो र सपनामा इन्द्रायणीले ‘सात दिनपछि ठूलो साइत आउने’ संकेत दिइन् । ब्युँझिएपछि राजाले पात्रो हेर्न लगाए । त्यसबेला दैवज्ञ कुलानन्द ढकाल र भानु अर्याल दुवैले सात दिनपछि अत्यन्त शुभ समय रहेको बताए । यही साइतमा गरिएको अभियान सफल भई नुवाकोट विजय सम्भव भएको इतिहासकारहरू उल्लेख गर्छन् ।

काठमाडौं विजयपछि पृथ्वीनारायण शाह न्हुछेँचोकको ढोकाबाट हनुमानढोका दरबार प्रवेश गर्दा दैवज्ञ कुलानन्द ढकाल पनि सँगै रहेको कथन पाइन्छ । दरबार प्रवेशपछाडि राजाले आफ्नो राज्य कति समयसम्म स्थिर रहला भनेर प्रश्न गरेका थिए । त्यसको उत्तरमा कुलानन्द ढकालले सुरुमा ‘सात पुस्तासम्म राज्य स्थिर रहने’ संकेत दिएका थिए । पछि विभिन्न शकुन र लक्षणको पुनः अध्ययन गरेर उनले ‘बाह्र पुस्तासम्म राज्यको भोग रहने’ भविष्यवाणी गरेको उल्लेख पाइन्छ ।

राजाले त्यसपछि ’त्यसभन्दा अगाडि राज्य दीर्घकालीन बनाउन के गर्नुपर्छ ?’ भनेर सोध्दा कुलानन्द ढकालले गोरखनाथ र गोरखकालीको सेवा गर्न सुझाव दिएको वर्णन इतिहासमा भेटिन्छ । त्यसपछि गोरखनाथ र भवानीको नाम अंकित चाँदीका मुद्रा चलाइएको तथा धार्मिक आस्थासँग राज्य सुदृढीकरणलाई जोडिएको उल्लेख गरिन्छ ।

दैवज्ञ कुलानन्द ढकालको प्रभाव पृथ्वीनारायण शाह को जीवनकालमै सीमित रहेन । पृथ्वीनारायण शाहको निधनपछि उनका उत्तराधिकारी प्रताप सिंह शाह को सन्तान नजन्मिएको अवस्थामा दरबार पुनः वृद्ध दैवज्ञ कुलानन्द ढकालको शरणमा पुगेको कथन पाइन्छ । त्यसबेला उनी गोरखाको बोर्लाङमा बसोबास गरिरहेका थिए । वृद्धावस्थाका कारण काठमाडौं आउन नसक्ने बताएपछि उनले राजा र रानीको जन्मकुण्डली मगाएर अध्ययन गरे । त्यसपछि निश्चित तिथि र समय निर्धारण गर्दै पशुपति क्षेत्रमा विशेष विधिअनुसार बस्न र गर्भाधान गर्न सुझाव दिएको उल्लेख पाइन्छ । पछि जन्मिएका राजकुमारलाई उनले ’रणबहादुर शाह’ नाम समेत जुर्ने भविष्यवाणी गरेको कथन इतिहासमा वर्णित छ । यसरी शाह वंशको उत्तराधिकार निरन्तरतामा समेत कुलानन्द ढकालको योगदान रहेको दाबी गरिन्छ ।

नेपाल ऋषि–प्राज्ञ जगमान गुरुङका अनुसार नेपाल एकीकरण केवल सैन्य शक्ति वा राजनीतिक रणनीतिको परिणाम मात्र थिएन, त्यसमा तत्कालीन समाजको आध्यात्मिक विश्वास, ज्योतिषीय परामर्श र सांस्कृतिक चेतनाले पनि गहिरो भूमिका खेलेको थियो । उनले दैवज्ञ कुलानन्द ढकालजस्ता पात्रहरूलाई राष्ट्र निर्माणको इतिहासमा पुनः स्मरण गरिनुपर्ने व्यक्तित्वका रूपमा व्याख्या गरेका छन् ।

नेपाल एकीकरणको इतिहासमा जहाँ वीरता, युद्धकौशल र नेतृत्वको कथा छ, त्यहीँ विश्वास, आस्था र दैविक मार्गदर्शनको समानान्तर कथा पनि जीवित छ । दैवज्ञ कुलानन्द ढकालको प्रसंगले यही अदृश्य आयामलाई उजागर गर्छ, जहाँ एउटा राष्ट्र निर्माणको यात्रामा तलवारसँगै विश्वासले पनि मार्ग देखाएको थियो ।