आफ्नो कमजोरी छोप्न विश्वराज पोखरेलको सचिवालयको कुतर्क(भिडियो)


काठमाडौँ । ओखलढुंगाबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले खिजिदेम्बा गाउँपालिका, रगनीस्थित एक विद्यालयमा पुगेर प्रधानाध्यापकलाई हप्कीदप्की पारेको भिडियो सार्वजनिक भएको छ । उनले प्रधानाध्यापकलाई ठूलै हप्कीदप्की पारेको देखिन्छ, हेर्दा लाग्छ उनी राजा नै हुन् । घटना सार्वजनिक भएपछि उनको सचिवालयको नाममा प्रष्टीकरण आएको छ । जसमा भनिएको छ, संवादको एक ‘क्लिप’ मात्र देखाएर भ्रम सर्जना गरियो ।

हेर्नुस् पोखरेलको हर्कत

प्रष्टीकरण
माननीय विश्वराज पोखरेलज्यू खिजिदेम्बा गाउँपालिका, रगनीस्थित एक विद्यालयमा पुगेर गर्नुभएको संवादको एक ‘क्लिप’ मात्र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसप्रति ध्यानाकर्षण भएको छ। उक्त क्लिपका कारण घटनाको वास्तविकता पूर्ण रूपमा प्रष्ट नभई भ्रम सिर्जना भएको देखिन्छ।
वास्तविक घटनाक्रम भने यस्तो थियो–
माननीयज्यू जिल्लाको जनप्रतिनिधिको हैसियतले स्थानीय स्तरका कार्यालय तथा संस्थाहरूको वास्तविक अवस्था, त्यहाँ रहेका चुनौती, कठिनाई र आवश्यकताबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले सो विद्यालयमा पुग्नुभएको थियो। त्यसबेला विद्यालयका प्रधानाध्यापक कार्यालयभित्रै हुनुहुन्थ्यो। कार्यालय सहयोगीमार्फत माननीयज्यूलाई कुर्सी दिएर केही समय बाहिर कुर्न अनुरोध गरिएको थियो।

माननीयज्यूले धैर्यतापूर्वक केही समय प्रतीक्षा गर्नुभयो। तर लामो समयसम्म पनि प्रधानाध्यापक उपस्थित नभएपछि पुनः बोलाउन पठाइएको थियो। त्यसपछि पनि निक्कैबेर नआएपछि माननीयज्यू विद्यालय परिसरबाट बाहिर निस्कनु भएको थियो।
पछि प्रधानाध्यापकज्यू हतारिँदै बाहिर आएर आफ्नो गल्ती स्वीकार गर्दै माननीयज्यूसँग माफी माग्नुभयो। त्यसपछि सबैजना पुनः भित्र गई आपसी सम्मान र सौहार्दपूर्ण वातावरणमा आवश्यक छलफल तथा संवाद सम्पन्न भएको थियो।

यस घटनाको सम्पूर्ण सन्दर्भ सार्वजनिक नभई एउटा सानो अंश मात्र प्रसारण हुँदा आमजनमानसमा अनावश्यक भ्रम उत्पन्न हुन गएको हो। यदि घटनाको पूर्ण भिडियो सार्वजनिक भएको भए वास्तविकता स्वतः स्पष्ट हुने थियो।

राजनीतिक शुद्धिकरण केवल माथिल्लो तहमा सीमित राखेर सम्भव हुँदैन। आज हाम्रो समाजका धेरै क्षेत्र राजनीतिको दुश्चक्रमा अल्झिएका छन्। दुर्भाग्यवश, विद्यालयजस्तो पवित्र संस्था पनि यसको प्रभावबाट पूर्ण रूपमा मुक्त रहन सकेको छैन। शिक्षालयहरूमा दलगत स्वार्थ र प्रभावले जरा गाड्दै जानु अत्यन्त चिन्ताजनक अवस्था हो।

आफ्नो विचार वा राजनीतिक धारणा फरक भएको कारण कसैलाई अपमान गर्ने वा अनादर गर्ने प्रवृत्ति लोकतन्त्रको मर्म र संस्कृतिविपरीत हो। कुनै जनप्रतिनिधिको अपमान गर्नु भनेको केवल एक व्यक्तिमाथि मात्र होइन, सम्पूर्ण जिल्लाबासीको सम्मानमाथि आघात पुर्याउनु हो।
त्यसैले अब हामी सबैले दलगत संकुचित सोचभन्दा माथि उठेर संस्थाहरूको गरिमा, निष्पक्षता र मूल्यलाई जोगाउने साझा जिम्मेवारी बहन गर्नुपर्छ। सम्मान, सहकार्य र जिम्मेवार संवादकै माध्यमबाट मात्र स्वस्थ लोकतान्त्रिक संस्कार स्थापित गर्न सकिन्छ।
–सचिवालय भानु दाहाल