अख्तियारको उपसचिव हुँ भन्दै धम्काउने पक्राउ


काठमाडौँ। नेपाल प्रहरीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको उपसचिव हुँ भन्दै विभिन्न व्यक्तिलाई धम्काउने एक युवकलाई पक्राउ गरेको छ।

बालाजु प्रहरी वृत्तको टोलीले काठमाडौँको तारकेश्वर नगरपालिकाका बासिन्दालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको उपसचिव हुँ भन्दै किर्ते कागज गरी धम्काउने डोटी घर भई काठमाडौँको फुटुङ बस्ने ३७ वर्षीय ऐभानबहादुर महरालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।

परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार अख्तियारको कर्मचारी भनी विभिन्न व्यक्तिलाई धम्काउने महरालाई तारकेश्वर नगरपालिका– ९ टुसालचोकबाट पक्राउ गरिएको हो। पक्राउ परेका महरा राष्ट्रिय वाणिज्य बैँकका पूर्व कर्मचारी हुन्।

पक्राउ परेका महरासँग प्रहरीले माननीय राज्यमन्त्रीको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौँसमेत लेखिएको लेटरप्याड तीन थान, नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार लेखेको लेडरप्याड तीन थान, नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसमेत लेखिएको कागज बरामद गरेको छ।

यस्तै, अङ्कित सेक्युरिटी सर्भिस प्रालि इचङ्गुनारायण काठमाडौँ लेखिएको लेटर प्याड एक थान, विभिन्न बैँकको स्टेटमेन्ट र एटिएम, चेकबुक एक थान, विभिन्न हिसाबको रेकर्ड राखिएको डायरी एक थान र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको परिचयपत्र पनि प्रहरीले महराबाट बरामद गरेको छ।