काठमाडौं । विश्वभर साइकलमार्फत शान्ति, एकता र मानवीय सन्देश फैलाउँदै परिचित भएका विश्व साइकलयात्री पुष्कर शाहद्वारा लेखिएको पुस्तक ‘मृत सागरदेखि सगरमाथासम्म’ आज लोकार्पण गरिएको छ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजित कार्यक्रममा लेखक पुष्कर शाह र जेनजी युवा समूहका प्रतिनिधिले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन्। लोकार्पित कृतिले विश्वभर नेपाली युवामा देशप्रेम, सहनशीलता र साहसको भावना जगाउने विश्वास व्यक्त गरियो।
लेखक शाहले आफ्नो बाल्यकालदेखि विश्व साइकल यात्रासम्मको जीवनकथा यस पुस्तकमा समेटिएको जानकारी गराए। उनले भने, ‘मैले सानो गाउँमा बिताएको बाल्यकालदेखि लिएर विश्वभरिका देशमा साइकल चलाउँदासम्मका अनुभव, सङ्घर्ष र उपलब्धि यस पुस्तकमा लेखेको छु। यो केवल मेरो यात्रा होइन, विश्वभरका मानवताका साझा सपना र असिम सम्भावनाको कथा पनि हो।’
पुष्कर शाहले सन् १९९८ देखि करिब ११ वर्षसम्म विश्वका १५० भन्दा बढी देशमा साइकल यात्रा गरी विश्व शान्तिको सन्देश फैलाएका थिए। उनले सगरमाथाको शिखरमा पुगेर विश्वका राष्ट्रहरूको झण्डा फहराउँदै ‘विश्व शान्ति’ को सन्देश पनि दिएका थिए।

प्रतिक्रिया