किसानलाई जङ्गली जनावरबाट बाली जोगाउन सकस



कञ्चनपुर ।  कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ का नन्दा गिरीको डेढ बिघा जमिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । उनको राधापुरस्थित उक्त जमिनलाई अर्कोतर्फबाट चौधर नदीले घेरेको छ । बेलडाँडी–५ झिलमिलास्थित बसोबासका लागि उनको घर छ ।

चौधर नदी गिरीको घर र खेतीयोग्य जमिन रहेको राधापुरको बीच भएर बग्ने गर्छ । झिलमिलामा बसोबासका लागि घर भए पनि जङ्गली जनावरका कारण उनको बासस्थान भने राधापुर नै बन्ने गरेको छ । खेती जोगाउन राधापुरमा मचान बनाएर रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको उनले बताइन् ।

‘निकुञ्जबाट जनावर आएर बाली जोगाउनै हम्मेहम्मे पर्छ’, नन्दा भन्छिन्, ‘खेतमै मचान बनाएका छौँ । राति पनि त्यहीँ मचानमा बसेर जनावर धपाउँछौँ ।’

गिरीको मात्रै मचानमा बास होइन, यहाँका करिब ५५ किसान परिवारको अवस्था यस्तै छ । करिब ७२ बिगाह जमिन रहेको राधापुरमा जनावर धपाउन बास बस्नका लागि बनाइएका मचान खेतभर छन् । यहाँका किसानले जनावर धपाउन खेतमा प्लाष्टिक झुण्ड्याउनेदेखि मान्छेका आकारको जस्तै देखिने बुख्याचासमेत राखेका छन् ।

‘काठको लामा खाबा ठड्याएर टुप्पोमा बस्नका लागि कोठाजस्तै बनाइएको हुन्छ । त्यहीँबाट काठ बाँधेको लामो डोरी जस्तापातासँग जोड्छौँ । जनावर आएमा डोरी हल्लाउँदा काठ टिनमा ठोक्किएर आवाज आउँछ’, नन्दा भन्छिन्, ‘यसले केही हदसम्म जनावर भाग्छन् ।’

राधापुरमा उखु, तिल, तोरीलगायत खेती हुने गरेको छ । डेढ बिघा जमिनमा उखु खेती गर्दै आएकी उनी जनावरबाट जोगाउन सके वार्षिक चार लाखसम्मको कारोबार हुने गरेको बताउँछिन् ।

निकुञ्जबाट आउने बँदेल, चित्तल, हात्तीलगायत जनावरका कारण खेती जोगाउन सकस पर्ने गरेको बेलडाँडी –५ का गोविन्द रानाले बताए । ‘यहाँको जमिनमा खेती राम्रै उब्जाउ हुन्छ । तर के गर्ने जोगाउन सकिँदैन’, उनले भने, ‘रातभर सुत्न पाउँदैनौँ । विद्युतको सुविधा पनि छैन । मचानमा बसेर राति टर्चको सहायताले जनावर धपाउनुपर्छ ।’

राधापुरमा बस्नका लागि खेतभर व्यक्तिपिच्छे मचान घर छन् । वर्षौंदेखि जङ्गली जनावरको पीडा झेल्दै आए पनि सरकारले आफूहरूको समस्या समाधान नगरेको यहाँका किसानको गुनासो छ । ‘राति मचानकै बास बसेर जनावर कुरेर बस्छौँ । जनावरबाट बाली जोगाउन सके सहजै जीविकोपार्जनका साथै राम्रै आम्दानी गर्न सकिन्थ्यो’, बेलडाँडी–५ कै श्यामलाल रानाले भने, ‘तर सरकारले हाम्रो पीडा कहिल्यै सुनेन ।’ उनले राधापुरमा डेढ बिघा जमिनमा उखु खेती गर्दै आएका छन् । राष्ट्रिय निकुञ्जमा तारबार गरे खेतमा जनावर आउनबाट जोगिन सक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट