तमान गाउँमा जिवीतै छन् कटुवाल र मुखिया प्रथा



ढोरपाटन । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण भेगमा कटुवाल कराउने प्रथा सञ्चारको उपयुक्त माध्यम थियो । कटुवालले गाउँमा कुनै सार्वजनिक सभा, सम्मेलन तथा काम परे अग्लो ठाउँबाट चर्काे स्वरमा कराएर गाउँलेलाई सूचना दिने गर्थे । जब मोबाइल फोनको प्रयोग बढ्दै गयो, तब कटुवाल प्रथा पनि हराउन थाल्यो ।

बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँमा भने अझै पनि कटुवाल प्रथा प्रचलनमै छ । गाउँका अधिकांश नागरिकको हात हातमा मोबाइल पुगे पनि तमान गाउँका स्थानीयले यो प्रचलनलाई बचाएका छन् । गाउँमा बहुउपयोगी र भरपर्दो सूचनाको माध्यमको रुपमा मानिएको कटुवाल प्रथा प्रभावकारी भएकाले हटाउन नसकिएको स्थानीय बताउँछन् ।

अहिले स्थानीय रुपलाल बुढा मगरले कटुवालको काम गरिरहेका छन् । गाउँलेहरुबाट आफुले यो जिम्मेवारी पाएको पाँच वर्ष भएको रुपलालको भनाई छ । चार वर्षमा कटुवाल फेर्ने गाउँलेको नीति भए पनि रुपलाल फेरि दोहोरिएका छन् । उनको काम चर्को स्वरमा कुर्लिएर (हाँको हाल्ने) सूचना प्रवाह गर्ने हो ।

रुपलालले गाउँमा पूजाआजा, झारा, मेला महोत्सव तथा अन्य सार्वजनिक कार्यक्रमहरु हुँदा गाउँलेलाई सूचना पुर्याउने काम गर्दै आएको बताउँछन् । गाउँलेलाई कुनै पनि सार्वजनिक चासो, सरोकारका कार्यक्रमहरुको सूचना दिनको लागि अग्लो स्थानमा गएर हाँको हालेपछि गाउँलेहरु सोही सूचनाको आधारमा कार्यक्रम, बैठक, सभाहरुमा सहभागी हुने गरेको उनको भनाई छ ।

“यो चलन त परम्परादेखि चल्दै आएको हो, गाउँलेले हटाउन सकेका छैनन्, मेरो काम गाउँमा केही कार्यक्रम भयो भने सूचना दिने हो” रुपलालले भने ।

उनले तमान गाउँमा तीन सय ७४ घरधुरीका नागरिकलाई सूचना दिँदै आएको बताए । सबै घरका नागरिकलाई एकै ठाउँबाट हाँको हालेर सूचना पुर्याउन नसक्ने हुँदा गाउँको देउराली डाँडा, किरी, हिले लगायतका ठाउँमा पुगेर सूचना दिने गरेको रुपलाल बताउँछन् ।

“गाउँ ठूलो छ, एक ठाउँबाट कुर्लिएर सबैले सूचना पाउन सक्दैनन्, सूचना पाएनन् भने फेरि कार्यक्रममा जाँदैनन्, उनीहरुले सूचना नपाएपछि मलाई कारबाही हुन्छ” रुपलालले भने, “त्यही भएर गाउँको देउराली डाँडा, किरी, हिले डाँडामा गएर हाँको हाल्छु, गाउँलाई सूचना दिनु राम्रो काम हो सूचना प्रवाहको भरपर्दो माध्यम बन्न पाएकोमा खुसी छु ।”

तमान गाउँमा कटुवाल मात्रै होइन, मुखिया प्रथा पनि कायमै छ । अहिले गाउँमा एक जना मुखिया हुनुहुन्छ । गाउँलेले स्थानीय ललित घर्ती मगरलाई मुखिया बनाएका छन् । मुखियाले दिएको आदेश अनुसार रुपलालले गाउँलेलाई सूचना दिने काम गर्छन् । मुखिया मातहत नै कटुवालले काम गर्नु पर्ने स्थानीयको नियम छ ।

कटुवालले वर्षभरि सूचना प्रवाह गरेबापत एक घरबाट दुई सय रुपैयाँ प्राप्त गर्ने गर्छन् । तीन सय ७४ घरधुरी रहेको तमान गाउँबाट रुपलालले हरेक वर्ष ७४ हजार आठ सय रुपैयाँ कमाउने गरेको बताउँछन् । दैनिक सूचना प्रवाह गर्न नपर्ने हुँदा अरु कामसमेत गर्न सकिने उनको भनाई छ ।

“कटुवाल काम गर्न धेरै कठिन छैन, यो काम सधैँ पनि हुँदैन, बेला मौकामा मात्रै हो, अरु समयमा घरबारीको काम पनि गर्छु, जनताको सेवाको रुपमा लिएको छु मैले यो कामलाई” उनले भने, “गाउँमा हाँको हाल्ने काम त बाजे बराजुदेखिनै हुँदै आएको हो मैले सुरु गरेको होइन ।”

स्थानीय कृष्ण बुढाथोकीले परम्परादेखि चल्दै आएका चलनहरुलाई निरन्तरता दिनु पर्ने बताए । उनले यस्ता परम्परा मौलिक संस्कृतिसँग जोडिएको भन्दै आधुनिकताले निकै ठूलो प्रभाव पारेको बताए ।

मुखियालाई पनि मान्छन् गाउँले

तमान गाउँमा अहिले पनि मुखिया प्रथा कायमै छ । अहिले तमान गाउँका मुखिया ३५ वर्षीय ललित घर्ती मगर हुन् । उनले तमान गाउँका तीन सय ७४ घरधुरीलाई नेतृत्व प्रदान गरिरहेका छन् । गाउँमा हुने विवाद मिलाउने, गाउँलाई व्यवस्थित र व्यवस्थापनको काम घर्तीले गर्छन् ।

मुखियाको काम र भूमिकाका हिसाबले अहिलेका जनप्रतिनिधि जस्तै भए पनि आफूले कुनै पनि सेवा सुविधा नपाउने घर्तीको भनाई छ । परम्परादेखि यो प्रथा चल्दै आएको र आफूहरुले यसलाई निरन्तरता दिएको भन्दै आफूको कार्यकालसमेत सकिन थालेको बताए। आफ्नो कार्याकाल चार वर्षको हुने उनको भनाई छ ।

“गाउँमा जति पनि चलन छन्, त्यो सबै हाम्रा पाका पुर्खाहरुदेखि नै चल्दै आएका हुन्, हामीहरुले त्यसको निरन्तरता दिएको हो, गाउँमा हुने विशेष कामहरु, पूजाआजा, कार्यक्रम हुँदा सबैलाई खबर गर्ने, वन थुन्दा, फुकाउँदा कुनै मिति तोकेर मात्रै त्यो काम गर्छौं,” मुखिया घर्तीले भने, “मुखियाले गाउँको नेतृत्व गर्ने हो, अहिलेको वडा अध्यक्ष जस्तै हो, तर मुखियाले कुनै पनि सेवा सुविधा लिदैनन्, समाज सेवानै हो ।”

घर्तीभन्दा अगाडि तमान गाउँको मुखिया जितेन्द्र रोका थिए । उनको मृत्यु भएपछि घर्ती मुखियामा चुनिएका हुन् । अहिले उनले दुई कार्यकाल चलाउँदै छन् । पछिल्लो समय जननिर्वाचित प्रतिनिधि पनि जनताको सेवामा आएकाले आफूले गाउँपालिका र वडासँग समन्वय गरेरै काम गर्दै आएको उनको भनाई छ ।

स्थानीय सरकार नआउँदा गाउँका सबै काम मुखियाले गर्ने गरे पनि जनप्रतिनिधि आएपछि सहकार्य समन्वय गरेर काम गरेको उनले बताए । “स्थानीय सरकार नआउँदा गाउँको काम सबै मुखियाले गथ्र्यो, गर्नुपथ्र्यो, अहिले जनप्रतिनिधि आएपछि उनीहरुसँग सहकार्य गरेर काम गर्छौँ, उहाँहरुलाई पनि सहज, हामीलाई पनि सहज भएको छ, जसरी पनि समाज परिवर्तन गर्ने हो” उनले भने ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले गाउँमा अहिले पनि पुराना प्रथाहरु कायम रहनुले परम्पराको संरक्षण भएको बताए । मुखिया र कटुवाल दुवै प्रथा समाज परिवर्तनका लागि चल्दै आएको हुँदा अहिले जनप्रतिनिधिसँग समन्वय गरेर काम गर्दा सहज भएको उनी बताउँछन् ।

“परम्परादेखि नै आएका यस्ता चलनहरुले हामीलाई सहज भएको छ, मुखियाले जनप्रतिनिधिले गर्ने काममा हस्तक्षेप गर्दैनन्, हामीहरुले गर्ने कतिपय कामहरु उहाँहरुले गर्दै आउनुभएको थियो, अहिले हामीहरुसँग सहकार्य गरेर काम गर्नुहुन्छ, यसले गाउँलेको सेवा पनि भएको छ, परम्पराको संरक्षण पनि” अध्यक्ष बुढा मगरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्वाचन आयोगद्वारा समानुपातिकको सिट बाँडफाँट, कसले कति पाए सिट ?

काठमाडौं ।  निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत

महाकालीमा तटबन्ध निर्माण रोक्न भारत सहमत

धनगढी । दार्चुलास्थित महाकाली नदी पारी भारतले एकतर्फी रुपमा निर्माण सुरु गरेको तटबन्धका

आगलागीबाट १८ लाख भन्दाबढीको क्षति

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका तारासिंह महराको घरमा बुधबार आगलागी हुँदा १८

संसद सचिवालयका महासचिवको पत्र कार्यान्वयन नगर्न बारको आग्रह

काठमाडौं । नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निलम्बन पत्रलाई निष्प्रभावी