काठमाडौँ । भारतले नेपालको लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा खुला गरेको छ । भारतीय विदेश मन्त्रालयले चीन सरकारसँगको समन्वयमा कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने जानकारी दिएको हो । यो यात्रा जुनदेखि अगस्टसम्म सञ्चालन हुने जनाइएको छ ।
विदेश मन्त्रालयका अनुसार यसवर्ष २० समूहमा यात्रु पठाइनेछन् । तीमध्ये १० समूह (प्रत्येकमा ५० जना) उत्तराखण्ड हुँदै लिपुलेक पासबाट जानेछन् भने बाँकी १० समूह (प्रत्येकमा ५० जना) सिक्किम हुँदै नाथुला पासबाट यात्रा गर्नेछन् । यात्राका लागि आवेदन प्रक्रिया सुरु भइसकेको विदेश मन्त्रालयले जनाएको छ । यात्रु छनोट निष्पक्ष, कम्प्युटरबाट हुने र लैङ्गिक सन्तुलन मिलाइने जनाइएको छ ।
सम्पूर्ण आवेदन तथा छनोट प्रक्रिया पूर्ण रूपमा डिजिटल हुने बताइएको छ। इच्छुकहरूले वेबसाइटमा दर्ता गरेर आवेदन दिन सक्नेछन् भने जानकारीका लागि पत्र वा फ्याक्स पठाउनुपर्ने छैन। वेबसाइटमार्फत सुझाव तथा प्रतिक्रिया पनि दिन सकिनेछ । आवेदकहरूले दुबै मार्ग रोज्न सक्ने वा एउटामात्र मार्ग चयन गर्न सक्नेछन् ।

प्रतिक्रिया