बझाङमा दुई वडावासीलाई तरकारी खुवाउँदै प्रकाश



बझाङ । बिहान १० नबज्दै विद्यालय पुगिसक्नुपर्छ । साँझ पनि घडीको सुइ साढे चारमा प्रवेश गरेपछि मात्रै घरको बाटो लाग्नुपर्छ । घर पुग्दा नपुग्दै हातमा कुटो–कोदालो बोकेर बारीमा प्रवेश गरिहाल्छन् बझाङको खप्तडछान्ना गाउँपालिका–५ सुतारीगाउँका प्रकाश खत्री । उनीसँग तरकारी बारीको हेरविचार गर्ने पर्याप्त समय छैन । बिहान बेलुका बचेको समयले मात्रै धानिरहेका छन्, ‘गोपाल फलफूल तथा तरकारी फार्म’ ।

गाउँघरमा तरकारी उत्पादन गर्नुपर्छ भन्ने धेरैको चेत हराइसकेको छ । खेतबारी तथा पाखो बाँझै राखेर भारतमा मजदुरी गर्ने परिवारका एक–दुई सदस्यको मात्रै भर पर्थे पूरै परिवार । छिमेकी जिल्ला बाजुराको काँडा, डोगटी, खप्तडछान्ना–७ कै लामागडामा फल्ने तरकारीको ग्राहक मात्रै थिए दुई दर्जनभन्दा बढी गाउँ ।

खत्री परिवारले भने २०५४ सालदेखि नै आफ्नै बारीको अग्र्यानिक तरकारी तथा फलफूल खाइरहेको छ । तीन वर्षदेखि भने व्यावसायिकरुपमा तरकारी फार्म दर्ता गरेर दुई वडालाई नै तरकारी तथा फलफूल खुवाइरहेको छ । खत्रीको फार्ममा केरा, नासपाती, अङ्गुर, कागती, सुन्तला, ओखर, किबीजस्ता फलफूल यामअनुसार पर्याप्त पाइन्छन् भने तरकारीमा रायो, सुइचार्ड, झुकेनी, सिमला मिर्चा, स्थानीय तरकारी उत्पादन भइरहेका छन् ।

खत्रीले गत वर्षमात्रै झण्डै चार क्विन्टल बेमौसमी तरकारी बिक्री गरेका थिए । उनले यस याममा पनि गत वर्षकै जस्तै बेमौसमी तरकारी बिक्री हुने अनुमान गरेका छन् ।

विसं २०७४ मा सुरू गरेको पहिलो तरकारी टनेलपछि अहिले खत्रीसँग पाँच तरकारी टनेल छन् । खत्रीका लागि उत्पादित तरकारीको बजार धेरै टाढा छैन, न त बीउबिजन ल्याउने ठाउँ नै टाढा छ । उहाँ बीउ ल्याउन पनि आफन्तको सहयोगमा तराईका जिल्लाबाट भित्राउँछन् । कतिपय तरकारीको बीउ नै राम्रो नपाउँदा लगानी नै उठ्दैन त कतिपय ठाउँमा राम्रै उत्पादन हुन्छ ।

छैन माटो परीक्षण

अहिले व्यवसायी बनेका प्रकाश खत्रीलाई कुन माटोमा कुन प्रजातिको तरकारी तथा फलफूल उत्पादन हुन्छ भन्ने अहिलेसम्म जानकारी छैन । सामान्य किसानका रूपमा उनी आफैँ परीक्षण गर्छन्, उत्पादन गर्छन् र आफैं बेचबिखन गर्छन् ।

खत्रीले सुरूवाती दिनमा तरकारीले राम्रै फल दिएपछि दोस्रो वर्ष त्यसलाई बढाए । जमिन बढाए, उत्पादन बढाए । फलफूलका बिरुवाले पनि राम्रै फल दिएपछि त्यसलाई पनि थप्दै गए । आफूलाई खानलाई पर्याप्त हुँदै गएपछि बिक्री गर्न थाले ।

“माटो परीक्षण गर्नका लागि जिल्ला कृषि विकास कार्यालयमातहतको कृषि ज्ञान केन्द्रले पनि परीक्षण नगरेर अन्य जिल्लामा पठाउने रहेछ”, खत्री भन्छन्, “अहिलेसम्म यो आसपासको माटो परीक्षण गरिएको छैन । जति फलफूल, तरकारी लगाएँ, मलबिनै पनि राम्रै उत्पादन भयो । यो अनुभवबाटै जुनसुकै प्रजातिका तरकारी तथा फलफूलसमेत उत्पादन हुने रहेछ ।”

सुतारीगाउँ मात्रै होइन । साविकका पाटादेवल तथा कालुखेती गाविसमा पनि पहिलो व्यावसायिकरूपमा तरकारी तथा फलफूल उत्पादन गर्ने कृषक खत्री नै हुन् । दिउँसोको समय एउटा आधारभूत विद्यालयमा पढाएर साँझ–बिहानमात्रै बारीमा समय दिने खत्रीले सानो लगानीमा कृषि पेशाा सुरु गरेका हुन् ।

“परिवारलाई पुग्ने गरी उत्पादन हुने गरेको तरकारीले अहिले करिब दुई दर्जनभन्दा बढी गाउँलाई तरकारी खुवाइरहँदा निकै खुसी भएको छु”, उनी भन्छन् ।

कुन मौसममा कस्तो तरकारी उत्पादन हुन्छ भन्ने थाहा नभएरै व्यवसायमा हाम फालेको खत्री सम्झन्छन् । उनी भन्छन्, ‘बीउमात्रै पाएको हुँदा सुतारी गाउँमा कुन मौसममा कस्तो खालको तरकारी फल्दोरहेछ, कुनै जानकारी थिएन । एक वर्ष त गोलभेँडा वर्षभरि नै बारीमा छरे । त्यसपछि मात्रै थाहा भयो दुई याममा गोलभेँडा राम्रै फल्ने रहेछ ।”

अनुभवबाट नै व्यवसायी बन्नुभएका खत्रीले पछिल्लो समय जिल्लाकै ध्यान तानेका छन् । उनले उत्पादन गरेको तरकारी र फलफूलले सरकारी तथा गैरसरकारी क्षेत्रका धेरै कर्मचारीले समेत स्वाद लिन पाएका छन् ।

सफलतापछि सहयोग

गोपाल तरकारी तथा फलफूल फार्मले छोटो समयमै लोभलाग्दो सफलता आर्जन गरेपछि जिल्लास्थित धेरै निकायले अनुदानस्वरुप आर्थिक सहयोग गर्दै आएका छन् । खप्तडछान्ना गाउँपालिकाले सो फार्मलाई अनुदानवापत एक लाख सहयोग गरेको उनले बताए ।

कृषिमा उत्साहित बनाउने प्रधानमन्त्री कृषि आधुनिकीकरण ‘आलु जोन’ बझाङबाट पनि फार्म सञ्चालक खत्रीलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग प्राप्त भएको थियो ।

आलु जोनले तरकारी सिँचाइका लागि पहिलोपटक रु एक लाख सिँचाइपोखरी निर्माण गर्नका लागि सहयोग गरेको उनले बताए । त्यो रकमसहित एक लाख थपेर खत्रीले सिँचाई पोखरी बनाए । दोस्रोपटक अनुगमनमा आउँदा पुनः आलु जोनले एक लाख अनुदान दिएपछि त्यो पैसाले उनले सिँचाइ नहर बनाएको बताए ।

गाउँपालिकाको कृषि शाखाबाट पनि सञ्चालक खत्रीले एक लाख अनुदान प्राप्त गरे । सो रकमले उनले टनेल बनाए । अहिले तीन वर्षको अवधिमा गोपाल तरकारी तथा फलफूल फार्ममा ११ लाखको लगानी भइसकेको छ । पाँच लाख विभिन्न निकायबाट अनुदान र छ लाख सञ्चालक खत्रीको आफ्नै छ ।

खत्रीले सुरू गरेको तरकारी खेती व्यावसायिक भएको कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले बताए । “जिल्लामा धेरैले तरकारी खेती गर्नुभएको छ, तर खत्रीजस्तो मेहेनती कृषक धेरै कम हुनुहुन्छ”, उनी भन्छन् । छान्ना क्षेत्रमै व्यावसायिकरूपमा पहिलो कृषकका रुपमा खत्रीलाई नै फेला पारेर भीमदत्त उत्कृष्ट कृषक पुरस्कारमा छनोट गरिएको उनले बताए ।

हजार रुपैयाँबाट सुरु गरेको व्यवसाय

खत्रीले घरमा तरकारी उत्पादन गर्न लागेको करिब तीन दशक हुन लाग्यो । सुरुमा आफूलाई पुग्ने गरीमात्रै उत्पादन हुन्थ्यो उनको बारीमा । बाँकी जमिनमा पुख्र्यौली उत्पादनलाई नै निरन्तरता दिइएको थियो । पुख्र्यौली उत्पादनले खानलाई कमै पुग्ने गरेको थियो । उनले सुरुमा प्याजको बेर्नासहित केही तरकारीका बीउ एक हजारमा किने ।

त्यो बीउले उत्पादन राम्रै दिएपछि विस्तारै तरकारी तथा फलफूलमा समेत लगानी बढ्दै गयो । लामो समय प्याजको बेर्ना बनाएर एक रुपैयाँवापत पाँच बोट दिएर बेर्ना बेचेका  खत्री अहिले हजारौँ मूल्य बराबरको प्याज बेच्न थालेका छन् । अहिले खत्रीको व्यापार सबैभन्दा राम्रो पनि प्याजमै छ ।

उनी प्याजबाट मात्रै करिब वार्षिक ६० हजारदेखि ७० हजार रुपैयाँसम्म बिक्री गर्छन् । प्याजसँगै केरा, काँक्रा, विभिन्न प्रकारका हरियो तरकारी, काउली, बन्दालगायत गरेर खत्रीले वार्षिकरूपमा चार लाखभन्दा बढी नाफा कमाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्याग्दीको टिमुर बेल्जियम र कोरिया निर्यात

गलेश्वर । खाद्यान्न बाली उत्पादन नहुने खोल्सा र भिरालो जमिनमा गरिएको टिमुर खेती

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी

काठमाडौं । बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी

त्रिविको ४८ औँ दीक्षान्त समारोहमा ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा ६३ हजार एक सय ३७

संसदका महासचिवको पत्र कार्यान्वयन नगर्न संवैधानिक इजलासको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने