काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी तथा सार्वजनिक निकायभित्र सञ्चालनमा रहेका कर्मचारी आबद्ध संघ–संगठन तथा पेसागत संस्थाका कार्यालय हटाउन सात दिने अल्टिमेटम दिएको छ ।
प्रशासनले सूचना जारी गरी संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका र विभिन्न सरकारी तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारी आबद्ध गैरसरकारी प्रकृतिका प्राविधिक तथा पेसागत संघ, संगठन र संस्थाका कार्यालय सरकारी भवनभित्र राख्न नपाइने जनाएको हो । यस्ता संघसंस्थाका केन्द्रीय, प्रादेशिक, जिल्ला, सम्पर्क तथा एकाइ कार्यालयहरूले सरकारी भवनभित्र राखिएका कार्यालय, साइनबोर्ड तथा अन्य संरचना सात दिनभित्र हटाई निजी वा भाडामा लिइएको भवनमा स्थानान्तरण गर्नुपर्नेछ ।
स्थानान्तरणपछि त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउन पनि निर्देशन दिइएको छ। सूचनामा तोकिएको समयभित्र कार्यालय स्थानान्तरण नगरी सरकारी संरचनाभित्रै सञ्चालन गरेको पाइए कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।


प्रतिक्रिया